मिस नेपाल श्रृष्टिको जवानीमा रोज राणाको आँखा

मिस नेपाल भएपनि धेरै युवतीहरुको चर्चा त्यसै सेलाएको हुन्छ । तर मिस नेपाल २०१२ की विजेता श्रृष्टि श्रेष्ठको चर्चा भने कुनै चर्चित नायिकाको भन्दा कम छैन । यसैले पनि उनी सिने नगरीमा प्रवेश गरे हुन्थ्यो भन्ने सोचाई धेरैको छ ।



यतिबेला नेपाली सिने नगरी सुस्ताएको छ । निरन्तर सिनेमा बनाउने चर्चित निर्माताहरु लगानी गर्ने सोचमा छैनन् । निर्माता रोज राणाले चलचित्र ‘हिरोइन’ बनाउने भनेको पनि धेरै समय भैसकेको छ । ‘हिरोइन’ छोडेर उनले कम बजेटको अर्को एक चलचित्र बनाउने तयारी पनि गरेका थिए । तर अहिले रोज चुप छन् । बानेश्वरमा एक रेष्टुरेण्टको मालिक बनेका रोज तत्काल सिनेमा बनाउने कुनै सोचमा नरहेको बनाउछन् । ‘पैसा डुब्छ भन्ने जान्दा जान्दै कसैले सिनेमामा लगानी गर्छ’, रोज यसै भन्छन् ।

तर निर्माता रोज राणा पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठले अभिनय गरेको खण्डमा चलचित्र बनाइहाल्ने बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा रोजले भने, ‘श्रृष्टिले सिनेमा खेल्न राजी भएको खण्डमा म अहिले लगानी गर्न इच्छुक छु, नत्र गर्दिन’ । आखिर श्रृष्टि माथी रोजको आँखा किन लागेको होला त ? ‘उनको फिगर, आकर्षक व्यक्तित्व र चर्चाले लोभ्याएको छ’, रोजले भने । अब हेर्न यत्ति मात्र बाँकी छ कि श्रृष्टिलाई लिएर सिनेमा बनाउने रोजको इच्छा कहिले पुरा हुने हो ?