दोलखाको चरिकोटमा भीषण आगलागी, ८ वटा घर जलेर नष्ट ,डेढ करोडभन्दा धेरैको क्षति

२७ जेठ, दोलखा । दोलखाको चरिकोट बसपार्क क्षेत्रस्थित एउटा पक्की घरसहित आधा दर्जनभन्दा बढी होटल र छाप्रामा गएराति आगलागी भएको छ ।



भीमेश्वर नगरपालिका-१० बसपार्कस्थित राम्जी चौलागाईं र लोकराज चौलागाइर्ंको तीनतले पक्की घर र अन्य होटल, किराना पसल राखिएका छाप्रामा आगलागी भएको हो ।

आगोले केदार भण्डारीको तीनवटा छाप्रा, लोकराज रिमालको होटल र किराना पसल, गोमादेवी घिमिरेको छाप्रा, सुवर्ण खत्रीको होटल, सुनिता न्यौपानेको किराना पसल, बालकृष्ण फुयाँलको किराना पसल, विष्णु बस्नेतको किराना पसल र हिक्मत खत्रीको घरमा सञ्चालित टायर मर्मत केन्द्र जलेर नष्ट भएको छ ।

आगलागीबाट एक करोड ६० लाखभन्दा बढीको धनमान क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

डेढ करोडभन्दा बढीको क्षति भएको अनुमान गरेका छौं, “प्रहरी प्रमुख अधिकारी भन्नुभयो, “क्षतिको पूर्ण विवरण एकिन गर्ने काम भइरहेको छ ।” गएराति करिब ११.४५ मा सुरु भएको आगो नेपाली सेना, प्रहरी र स्थानीयवासीको प्रयासमा राति करिब पौने २ बजे नियन्त्रणमा आएको थियो ।

आगलागीका क्रममा घरभित्र रहेका सातवटा ग्यास सिलिन्डर विष्फोट हुँदा आगो नियन्त्रणमा थप कठिनाइ भएको थियो । छाप्राहरुमा मानिस नबस्ने र पक्की घरमा रहेकाले भागेर ज्यान जोगाएका कारण कुनै मानवीय क्षति भने हुन पाएन । रासस