दरवार हत्याकाण्डको १२ वर्ष पुरा

काठमाडौं, जेठ १९ – नारायणहिटी दरवार हत्याकाण्ड भएको १२ वर्ष पुरा भएको छ । वि.सं. २०५८ साल जेठ १९ गते राती दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा विरेन्द्रको बंश नै नास हुनेगरि राजपरिवारका सबै सदस्य एकै स्थानमा मारिएका थिए ।


राजपरिवारका सदस्यहरुको पारिवारिक भेला भएको बेलामा भएको यो हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको मृत्यु भएको थियो ।

घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेपनि यसलाई आम नेपालीले पत्याएका छैनन । नेपाली नागरिकले कहिल्यै नविर्सने यो त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नै नया मोड लिएको थियो । तत्पश्चात महत्वाकांक्षी राजाका रुपमा ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो । जनआन्दोलन २०६२/६३ को सफलतासंगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो ।

हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहालय बनाइएको छ । घटनाको १२ वर्ष वित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री हुँदा हत्यारा पत्ता लगाइ कारावाही गर्ने प्रतिबद्धता जनाएपनि उहाँले आफ्नो भनाईलाई कार्यान्वयनमा ल्याउन सक्नुभएको छैन ।

हत्याको कारण प्रेमिका

दिपेन्द्रले आफ्नी प्रेमिका देवयानी राणासँग विवाह गर्न परिवारले अनुमति नदिएको झोंकमा बंश नै विनास गरेको भनिँदै आएको छ । दरवार हत्याकाण्डको छानविन गर्न गठित समितिले निकालेको प्रतिवेदनमा पनि दिपेन्द्रले हत्या गर्नुअघि पटक–पटक देवयानीसँग मोबाइलमा कुराकानी गरेको उल्लेख गरेको छ । हत्याकाण्ड अघि दिपेन्द्र रक्सी र लागु पदार्थको नशामा रहेको समेत प्रतिवेदनमा उल्लेख छ । नशाकै सुरुमा दिपेन्द्रले देवयानीसँग कुराकानी गरेको र देवयानीले पनि दिपेन्द्रको हालचाल बुझ्न दिपेन्द्र र सहयोगीहरुलाई फोन गरेको प्रतिवेदनमा उल्लेख छ । यसले दिपेन्द्र र देवयानीबीच नजिकको सम्बन्ध रहेको अनुमान त गर्न सकिन्छ ।