जीवन दिने नाममा हजार माछाको हत्या

१९ जेठ, काठमाण्डौं । खोला–नालामा जलचर प्राणी नहुनु वातावरणीय दृष्टिले निराशाजनक विषय हो । तर, पानीमा मात्र बस्ने जलचर प्राणीको बासस्थानको मूल्यांकन नै नगरी नदीमा छाडिनुलाई जलचर प्राणीको हत्या नभनेर अरू के भन्ने ? यस्तै एउटा घटना पूर्णतः जीवविहीन बनेको बाग्मतीमा आइतबार हुँदै छ ।

जीवविहीन बाग्मतीमा माछाका भुरा छाडेर । जुन घटनाको जीवजन्तुको संरक्षणमा लागेकाले चर्को विरोध गरेका छन् । जलचर प्राणीको संरक्षणमा काम गर्दै आएका संस्थहरूबाटै जीवको बासस्थानको परीक्षणविनै बाग्मतीमा माछा छाडिँदा जीवको विकासभन्दा पनि हत्या हुने जीव अधिकारकर्मीहरूको दाबी छ । वातावरणीय सन्तुलन र जीवजीवात्मा संरक्षणमा काम गर्दै आएका राजेश घिमिरे बाग्मतीमा माछाका भुरा छाड्नु माछाको हत्या गर्नु भएको बताउँछन् ।

खोला–नाला सफा हुँदैमा जनावरका लागि उपयुक्त वातावरण भए/नभएको परीक्षणविनै जलचर प्राणी छाड्दा बाँच्न नसक्ने वातावरणविज्ञ डा.तीर्थबहादुर श्रेष्ठले बताए । उनले जलचर प्राणीका लागि उपयुक्त वातावरण निर्माणमा ध्यान नदिँदा आइतबार छाडिने माछा अहिलेको अवस्थामा बाग्मतीमा बाँच्न नसक्ने जिकिर गरे । ‘अहिले नै बाग्मतीमा माछा छाड्ने समय भइसकेको छैन,’ उनले शनिबार भने, ‘बाग्मतीमा जीवको अस्तित्व नभएको अवस्थामा माछा छाड्नु भनेको माछालाई जीवन दिनुभन्दा हत्या गर्नु हो,’ राजधानी दैनिकमा खबर छ ।

बाग्मती नदीको संरक्षण तथा सरसफाइमा काम गरिरहेको ग्लोबल पिस एसोसिएसन र रिभर अफ पीस क्याम्पिएनले गुहेश्वरीदेखि ब्रह्मनालसम्मको पानी सफा भएको दाबी गर्दै आइतबार माछा छाड्ने तयारी गरेका छन् । उनीहरूको अभियानले माछालाई जीवन दिनेभन्दा पनि हत्या गर्ने प्रयास भएको जीवविज्ञहरूको आरोप छ । आफूहरूले गुहेश्वरीदेखि ब्रह्मनालसम्म बाग्मती नदी सरसफाइ गरेको भन्दै आयोजक संस्थाका प्रवक्ता रामरोहन पन्तले बाग्मतीको पानी माछाका लागि उपयुक्त भएको भन्दै एक हजार माछा छाडिने दाबी गरे ।