पाहुना बनेर बेहोस बनाइ लुटपाट

बाबियाचौर (म्याग्दी), जेष्ठ २२ - म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने सिङ्गा गाविसमा पाहुना बनेर वास बस्न आएका व्यक्तिहरूबाट लाखौँको धनमाल लुटपाट भएको छ ।



सिङ्गा–१ अर्जेखोलाका रुद्रबहादुर खड्काको घरमा वास बस्न आएका नचिनेका व्यक्तिहरूले नगद र गहना लुटेर लगेका हुन् । रातको समयमा वास बसेका पाहुनाले बेहोस बनाई लुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार राति १० बजे खाना खाएर सुतेका खड्काले मङ्गलबार दिउँसो व्यूझिँदा घरमा भएको नगद र गहना नभएपछि तातोपानी प्रहरी चौकीमा खबर गरेका थिए ।

मङ्गलबार साँझमात्र यो घटना सार्वजनिक भएको थियो । रुद्रबहादुर र उनकी श्रीमतीमात्र बस्ने सो घरमा वास बस्ने निहुँमा आएका तीनजनाले लुटपात गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए ।

बाह्र तोला सुनका गहना र रु एक लाख नगद लुटिएको पीडितले बताएका छन् । साँझ सबैजनाले खाना खाएर सुतेपछि मङ्गलबार दिउँसोमात्र होसमा आएको खड्काले बताए । उनीहरूले लठ्याउने खानेकुरा खुवाएर बेहोस बनाई लुटपात गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

होस खुलेपछि मात्र वास बसेका व्यक्तिहरू नभएको, घरमा भएको गहना र नगद पनि हराएको थाहा पाएको पीडितले बताएका छन् । कालो वर्णका तीनजना युवा सो घरमा वास बसेका थिए । प्रहरी नायब उपरीक्षक मरासिनीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धानसँगै घटनामा संलग्नहरूको खोजी तीव्र पारिएको प्रनाउ मरासिनीले बताए । रासस