छोरीलाई करणी गर्ने बाबुलाई १६ वर्ष कैद

२३ जेठ, अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीले आफ्नै छोरीलाई करणी गर्ने एक व्यक्तिलाई १६ वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ । सिमलपानी गाविस- ५ निवासी जीतबहादुर खाम्चाले गत वर्ष तिजको दिन आमा माइत गएको मौका छोपी छोरीलाई करणी गरेका थिए ।



जिल्ला न्यायाधीश माधवेन्द्रराज रेग्मीको एकल इजलासले हाडनातामा करणी गरेको अभियोगमा उनलाई १६ वर्ष ६ महिना कैद गर्ने फैसला गरेको हो । मुलुकी ऐनको जबरजस्ती करणी महलअनुसार छ वर्ष छ महिना कैद र सोही ऐनको हाडनाता करणीमहल बमोजिम थप १० वर्ष गरी १६ वर्ष ६ महिना कैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

प्रतिवादीको अवस्था कमजोर रहेको देखिएकाले पीडित बालिकालाई नेपाल सरकारबाट ५० हजार रुपैयाँ क्षतिपूर्ति भराई लिन पाउने ठहर गरेको पनि अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिनुभयो । रासस