राष्ट्रपति रामवरण यादव बिरामी,आइतबार विदेश लाने तयारी

१ असार, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव बिरामी पर्नुभएको छ । शुक्रबार शिक्षण अस्पतालमा उपचारका लागि पुग्नुभएका यादवको आन्द्रामा समस्या देखिएपछि डाक्टरहरुले अन्यत्र रिफर गरेको हो । उहाँलाई उपचारका लागि आइतबार विदेश लाने तयारी सरकारले गरेको छ ।



‘उहाँलाई केही महिना पहिले देखि नै पेटको समस्या थियो । उहाँको ठूलो आन्द्रामा दाग देखिएकाले उपचारका लागि बाहिर लानुपर्ने भएको छ । आइतबार जापान लाने सम्भावना छ, त्यहाँ नभए अमेरिका पनि जानुपर्ने हुन सक्छ ।’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार यादवको पेटको उपचार शिक्षण अस्पतालका ल्यास्ट्रोलोजिष्ट डा. शशी शर्माले गर्दै आउनुभएको थियो । शर्माको सिफारिसमा शनिबार ग्रान्डीमा अत्याधुनिक मेसिनमा सीटी स्क्यान गर्दा ठूलो आन्द्रामा दाग देखिएको हो ।

शिक्षण अस्पतालको सिफारिसमा शनिबार उहाँको थप चेकजाँच धापासीस्थित निजी अस्पताल ग्रान्डीमा गरिएको थियो । ‘टिचिङमा हिजो उपचार गरिएको थियो, ठूलो आन्द्रामा समस्या देखिएपछि टिचिङले ग्रान्डीमा सिफारिस गरेकाले आज ग्रान्डीमा देखाइएको हो ।’ तीन दिनदेखि राष्ट्रपति यादवलाई पखाला लाग्ने र खान मन नलाग्ने समस्या देखिएको थियो ।

शीतलनिवास स्रोतले भन्यो– ‘उहाँको ठूलो आन्द्रामा दागजस्तो देखिएकाले डाक्टरहरु मिटिङ बसिराखेका छन् । रोग पत्ता लगाउने उपकरण राम्रो नभए बाहिर गएर थप चेकअप गर्नुपर्ने डाक्टरहरुको सल्लाह छ ।’ राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो ।