बहुविवाह गर्ने पति गिरफ्तार

राजविराज, जेष्ठ १८ - बहुविवाह गर्ने पत्थरगाढा गाविस–७ लक्षणपट्टीका २२ वर्षीय अरुण मण्डललाई प्रहरीले गिरफ्तार गरेको छ । जेठी पत्नी २० वर्षीया विष्णुदेवी मण्डलले शनिबार जिल्ला प्रहरी कार्यालयमा कारबाहीकालागि पतिविरुद्ध उजुरी दिएपछि मण्डललाई आज गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।



विष्णुदेवीले आफू जेठी पत्नी हुँदाहुँदै पति अरुणले धनगढी गाविस–९ की १८ वर्षीया बेचनीदेवी मण्डलसँग गत वैशाख १२ गते दोस्रो विवाह गरेको भन्दै पतिलाई कारबाही गरी आफूलाई न्याय दिलाउन उजुरी दिएको बताइन् ।

जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका अरुणले जेठी पत्नी अव्यावहारिक भएकाले आफूले बेचनीदेवीसँग मागी विवाह गरेको स्विकारेका छन् । धार्मिक परम्परा अनुसार २०६५ साल फागुन २९ गते अरुणसँग विवाह गरेकी विष्णुदेवी निःसन्तान छिन् ।

विष्णुदेवी हाल मलेठ गाविस–७ स्थित माइतमा बस्दै आएकी छन् । प्रहरीले मण्डललाई गिरफ्तार गरे पनि मुद्दा दर्ता नगरी दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सहमति गराउने प्रयत्न गरिरहेको छ ।