११ विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा

१८ जेठ, काठमाडौँ । ठूला चार दल निकट विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन हुन नदिएको दावी सहित अन्य ११ विद्यार्थी संगठनहरुले आन्दोलन र भण्डाफोरको कार्यक्रम घोषणा गरेका छन् । नेपाल विद्यार्थी क्रान्तिकारी संघ, अनेरास्ववियु छैठौ, अनेरास्ववियु पाँचौ, क्रान्तिकारी विद्यार्थी संगठन, अखिल नेपाल विद्यार्थी यूनियन, अनेरास्ववियु एकीकृत, राप्रविसंघ, नेपाल विद्यार्थी परिवार, विद्यार्थी मञ्च, मधेसी विद्यार्थी फोरम नेपाल र मविफोने लोकतान्त्रिकले त्यस्तो घोषणा गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा शनिवार संयूक्त पत्रकार सम्मेलन गरेर उनीहरुले पूर्व घोषित मितिमै वा जेठ मसान्त भित्र स्ववीयू निर्वाचन गर्न दवाव दिने उद्देश्यले आगामि सोमबार त्रिभुवन विश्व विद्यालय घेराउ गर्ने जानकारी दिए । त्यसपछि थप आन्दोलनको कार्यक्रम घोषणा गर्नुका साथै त्रिविमा सेण्डिकेटको रुपमा रहेका चार ठूला विद्यार्थी संगठनहरुले चुनाव हुन नदिएको विषयको भण्डाफोर गर्ने उनीहरुले चेतावनी दिए ।

ती विद्यार्थी संगठहरुले चार ठूला विद्यार्थी संगठनको कारण स्ववियु निर्वाचन स्थगित भएको भए पनि उनीहरुले त्रिविलाई दोष दिएर उम्किन खोलेकोले त्यसको कडा प्रतिवाद गर्ने बताए । ११ विद्यार्थी संगठनहरुले आफूले जित्ने क्याम्पसमा फर्जि भर्ना गराएको र नजित्ने क्याम्पसमा तालाबन्दी गरेर चार ठूला दलले भाडेको दावी गर्दै तत्काल स्ववीयू निर्वाचन नगरे मुलुकमा फेरि कहिल्यै पनि स्ववियु निर्वाचन हुन नसक्ने दावी गरे ।

पत्रकार सम्मेलनमा क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष रविन्द्र ज्याख्व, अनेरास्ववियु छैठौँका अध्यक्ष अनिल किशोर घिमिरे, पाँचौका अध्यक्ष सन्तोष विष्ट, अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष घनश्याम मिश्र, अनेरास्ववियु एकीकृतका अध्यक्ष डिल्लीराम बोहरा, राप्रविसंका अध्यक्ष कामना भुषाल, विद्यार्थी मञ्चका अध्यक्ष रामेश्वर यादव, मधेसी विद्यार्थी फोरम नेपालका अध्यक्ष अशोक यादव र मविफोने लोकतान्त्रिकका महासचिव ओम भट्टले स्ववियुलाई समाप्त पार्ने षडयन्त्र विरुद्ध लड्न सबैलाई आब्हान गरेका थिए ।