डलरको मूल्य बढ्दा हुने फाइदा र बेफाइदा

रमेश घिमिरे

३० जेठ, काठमाडौं । तत्काल डलरको मूल्य बढ्ने क्रम रोकिए पनि नेपालको लागि चिन्ताको समय सकिएको छैन । अहिले डलरको मूल्य ९३ रुपैयाँको हाराहारीमा रहेको छ, जबकि ९० रुपैयाँभन्दा माथिको मूल्य ३/४ महिनाभन्दा बढी कायम रह्यो भने नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्नेछ । पाँच वर्षको अन्तरालमा डलरको मूल्य ७२ देखि ९४ रुपैयाँको बीचमा रहेको छ । डलरको मूल्य ७५ बाट तल झर्दा र ९० बाट माथि चढ्दा अर्थतन्त्रमा प्रतिकूल असर परेको पाइएको छ । डलरको मूल्यले विभिन्न पक्षमाथि सकारात्मक र नकारात्मक दुवै असर पार्ने गर्दछ ।



मूल्यवृद्धि

नेपालमा वाषिर्क बजेटको रकम -अहिले करिब ४ खर्ब) बराबर व्यापार घाटा रहेको छ । उपभोग गरिने अधिकांश वस्तु डलरमा भुक्तानी गरेर आयात गरिने हुँदा यहाँ महँगो पर्न जान्छ । मानौं, पहिले १ डलरको वस्तु आयात गर्दा ८० रुपैयाँ तिरे पुग्थ्यो भने अहिले ९३ रुपैयाँ तिर्नुपर्ने भयो । आजको मूल्यमा अर्डर गरिएको सामान सामान्यतयाः तीन महिनापछि आयात हुने भएको हुनाले यसको असर पनि त्यतिखेर पर्दछ ।

नेपाली मुद्रासँग भारुको सटही दर १ सय ६० रुपैयाँ यथावत रहेको भए पनि भारुमा सामान आयात गर्दा समेत महँगो पर्ने गर्छ । भारतमा तयार हुने वस्तुको लागि त्यहाँका उद्योगले डलरमा कच्चा पदार्थ आयात गरेका हुन्छन् । पहिले ५० भारु साटेर भारतीय उद्योगले १ डलरको कच्चा सामान किन्थे भने अहिले ५७ भारु साटेर मात्र १ डलरको सामान पाउँछन् । त्यसैले नेपालले पहिले ५० भारुमा किन्ने सामानको मूल्य अहिले ५७ भारु पर्न जान्छ ।

निर्यात

आफ्नो देशको मुद्रा कमजोर हुँदा निर्यात बढाउन सजिलो हुन्छ । पहिले १ डलरमा विदेशीले नेपालबाट ७५ रुपैयाँको सामान किन्न सक्थ्यो, अहिले १ डलरभन्दा कम पैसामा त्यो सामान किन्न सक्छ । यसरी सस्तोमा पाएपछि नेपालको सामान बढी निर्यात हुने सम्भावना रहन्छ । तर, यो सिद्धान्त नेपालको हकमा लागू हुँदैन । नेपालको निर्यात आधार अत्यन्तै सानो भएको र माग बढे पनि निर्यात गर्न सक्ने गरी यहाँ पर्याप्त सामान नभएको हुनाले निर्यात बढ्ने सम्भावना छैन ।

रेमिटान्स

विभिन्न देशबाट नेपालीले अमेरिकी डलरमा रेमिटान्स पठाउँछन् । डलरको मूल्य बढेको बेला यहाँ आफन्तले बढी पैसा पाउँछन् । त्यसैले डलरको मूल्य बढेको बेला कामदारहरुले जम्मा गरेर राखेको पैसा नेपाल पठाउँछन् र रेमिटान्सको आप्रवाह वृद्धि हुन्छ । यद्यपि सबै देशमा काम गर्ने कामदारले डलरको मूल्यवृद्धिबाट फाइदा पाउन सक्दैनन् ।

नेपाली कामदारले स्थानीय मुद्रामा तलब प्राप्त गर्छ र त्यहाँको मुद्रा पनि नेपालको जस्तै डलरसँग अवमूल्यन भएको छ भने कामदारले कुनै लाभ पाउँदैन । मानौं ४ रिंगिटले १ डलर साटेर नेपाल पठाउँदा ८० रुपैयाँ प्राप्त हुन्थ्यो भने अहिले १ डलर साट्न मलेशियामा ४.५ रिंगिट तिर्नुपर्‍यो भने नेपालमा ९० रुपैयाँ पाए पनि केही फाइदा हुँदैन ।

सरकारी खर्च

सरकारले बजेटमा पुँजीगत खर्चको लागि मुख्य स्रोत विदेशी ऋणलाई मानेको हुन्छ । नेपाल राष्ट्र बैंकमा सरकारको नेपाली मुद्रामा खोलिएको खाता हुन्छ । ऋणको किस्ता र ब्याज सरकारले तत्काल डलर किनेर भुक्तानी गर्ने गर्दछ । मानौं सरकारले डलर सस्तो भएको समयमा १ डलर ऋण लिंदा राष्ट्र बैंकबाट ७२ रुपैयाँ पाएको थियो भने अहिले सो ऋणको सावाँ मात्र तिर्दा राष्ट्र बैंकमा ९३ रुपैयाँ बुझाउनुपर्छ ।

नेपाल विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले खिम्ती र भोटेकोशी पावर हाउस सञ्चालक कम्पनीलाई बिजुली किनेको पैसा डलरमै तिर्ने सम्झौता गरेको छ । डलरको मूल्य सस्तो हुँदा प्राधिकरणले नेपाली मुद्रा कम खर्च गरेर उत्ति डलर भुक्तानी गर्न सक्छ भने महँगो हुँदा नेपाली मुद्रा धेरै खर्च हुन्छ । त्यसैले डलरको मूल्य वृद्धिले प्राधिकरणलाई घाटा मात्र हुन जान्छ ।

विदेश जाने व्यक्ति

पढ्न वा अन्य कामले विदेश जाने नेपालीको खर्च डलरको मूल्य बढेको बेला ज्यादा हुन्छ । विदेशमा चाहिने डलर उत्ति नै भए पनि यहाँबाट डलर साटेर जाँदा बढी पैसा तिर्नुपर्छ । विदेश पढ्न जानेले वाषिर्क २२ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको देखिन्छ । डलरको मूल्य बढेको बेला पढ्न जाँदा वा अध्ययनरत व्यक्तिलाई यहाँबाट पैसा पठाइदिंदा धेरै रुपैयाँ बुझाउनुपर्छ ।

उद्योगी

डलरको मूल्य बढ्दा विदेशी सामान महँगो हुने कारण स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई फाइदा हुने देखिन्छ । त्यस्ता उद्योगको उत्पादनको मूल्य नबढ्ने हुँदा विदेशीको तुलनामा प्रतिस्पर्धी मूल्य कायम भई बिक्री बढ्न सक्छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरी निर्माण हुने सामान निर्यात गर्ने उद्यमीले पनि पहिलेकै लागतमा थप आम्दानी गर्न सक्छन् ।

विदेशी लगानी

कुनै मुलुकको मुद्रा कमजोर हुँदा त्यहाँ विदेशी लगानी बढ्ने सम्भावना हुन्छ । पहिले नेपालमा ७५ करोडको कुनै उद्योग खोल्न विदेशीले १ करोड डलर खर्च गर्नुपर्दथ्यो भने अहिले त्यति लगानी गर्दा यहाँ ९३ करोडको उद्योग खोल्न सकिन्छ । यस्तै, यहाँ कमाएको मुनाफा अहिले आप\mनो देश फिर्ता लैजाँदा उसलाई घाटा पर्ने भएको हुनाले पुनर्लगानी गर्ने सम्भावना रहन्छ ।