कलाकारहरु धमाधम राजनीतिक पार्टीमा प्रवेश (हेर्नुस् भिडियोसहित)

नेपाली सिनेमाका थुप्रै चर्चित कलाकारहरु कुनै न कुनै राजनीतिक पार्टिसँग आबद्ध छन् । चलचित्र क्षेत्रमा कलाकारहरु सुरक्षित महसुस गर्न छाडेपछि धमाधम पार्टी प्रवेश गर्ने अहिले फेसन जस्तै बनेको छ । पछिल्लो समयमा नेपालकी नं १ नायीका मानिने रेखा थापा एमाओवादीमा प्रवेश गरेपछी कलाकार राजनीतिमा प्रवेश गर्न हुने वा गर्न नहुनेमा व्यापक बहस र चर्चा सुरू भएको छ । कतिपयले चर्चित कलाकारको राजनैतिक पार्टी प्रवेशलाई गलत ठहर्याउँछन् भने कतिपय कलाकार पनि चेतनशील प्राणी भएकाले राजनीतिमा जानु अन्यथा नभएको बताउँछन् । तर, कलाकारको प्रवेशबारे बहस भने जारी छ ।



कलाकारहरूको राजनीतिमा प्रवेश नयाँ भने नितान्त होइन् । यसअघि नेपालमै र हलिउड र बलिउडमा पनि चर्चित कलकारहरू राजनितिमा प्रवेश गरिसकेका छन् । थोरै सफल भएका छन् भने धेरै पुनः कलाकारितामै प्रवेश गरेका छन् । यसअघि नै एमाओवादीमा विभाजन आउनु भन्दै अगाडीनै १०० जनाको हाराहारीमा एमाओवादीले कलाकारलाई पार्टी प्रवेश गराएको थियो। निर्माता/निर्देशक युवराज लामासहित निर्देशक केपी पाठक, मौसमी मल्ल, राजेन्द्र खड्गी, शिव रेग्मी, दिपक श्रेष्ठ, सुभाष गजुरेल, अन्जु पन्त, सृजना बस्नेत, सुरज सुब्बा, कल्याण घिमिरे, मौनता श्रेष्ठ, छवि ओझा, उदय सुब्बा, बसन्तकुमार श्रेष्ठ, हिमाल केसी, दीप तुलाधर, जयनन्द लामा, भुवन श्रेष्ठ, नीर शाह, सुनीलदत्त पाण्डे, रोशन श्रेष्ठ, योगेश घिमिरे, गोपाय कायस्थ, सुरज चन्द, सुन्दर श्रेष्ठ, कल्याण घिमिरे, सुलेमान शङकर, शम्भु सापकोटा जस्ता कलाकारहरु एमाओवादीले उहिल्यै पार्टिमा प्रवेश गरिसकेका छन् । यी सबै कलाकारलाई प्रचण्डले रातो टीका र अवीर माला लगाएरै स्वागत गरेका थिए । यी नाम बाहेका अन्य कलाकार पनि छिटफूट एमाओवादीमा छिरेका छन् । जेबी टुहुरे देखी शम्भु राईपनि एमाओवादीमै छन् । त्यसैगरि केही कलाकारहरू देखिने गरि कांग्रेस र एमाले पार्टीमा पनि छिरेका छन् ।