बोक्सीको आरोप लगाउनेलाई गाउँलेले तिराए एकलाख

२९ जेठ, सुनसरी । अर्कालाई बोक्सा-बोक्सीको आरोप लगाउँदै प्रचारप्रसार गर्ने सुनसरी हाँसपोसा ८ का चन्द्र घिमिरेले १ लाख रुपैयाँ जरिवाना तिरेका छन् ।

नेपाली सेनाका पूर्वजमदारसमेत रहेका घिमिलेरले इलाका प्रहरी कार्यालय इटहरीमा सोमबार जरिवाना तिरेका हुन् । उनले दुई साताअघि गाउँकै ‘राधा पराजुली, रोहीत पराजुली, उनकी श्रीमती र माइली सञ्जेलनी बोक्सा-बोक्सी भएकोले सावधान हुनु,’ भन्दै प्रचारबाजी गरेको कारोबार दैनिकमा खबर छ ।

प्रहरीले घिमिरेलाई पक्राउ गरी मुद्दा दर्ता गर्न खोजे पनि उनका परिवारका सदस्यले मानसिक समस्या रहेको भन्दै गाउँलेसमक्ष माफी मागेपछि सहमतिमा जरिवाना तिराइएको स्थानीय पेशल लम्सालले जानकारी दिए । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन कार्कीले एकपटक मिलाएर जाने सहमतिपछि जरिवानामा कुरा टुंग्याइएको जानकारी दिए ।