सप्तरीमा बाढीबाट ६१ को मृत्यु

३ असार,राजविराज । विपद्को अत्यधिक जोखिममा रहेको सप्तरीमा बाढी र बाढीका फैलिने महामारीका कारण वर्षेनी सरदर ६० जनाले ज्यान गुमाउने गरेका छन् । जिल्ला दैवी प्रकोप उद्धार समिति तथा नेपाल रेडक्रस सोसाइटी सप्तरीले विभिन्न निकायसँग मिलेर गरेको अध्ययनले सप्तरीमा हरेक वर्ष बाढीले यो सङ्ख्यामा मानिसको मृत्यु भइरहेको देखाएको छ ।


बाढी र त्यसपछि फैलिने विभिन्न प्रकारको रोगको महामारीले वर्षेनी सरदर ६० जनाले अनाहकमै ज्यान गुमाउने गर्छन् । बाढीबाट मात्र हरेक वर्ष करिब १० जनाको मृत्यु हुन्छ । बाढीपश्चात् फैलिने महामारीबाट हरेक वर्ष करिब ५० जनाको मृत्यु हुने गरेको उक्त प्रतिवदेनमा उल्लिखित छ । जिल्लाको ३३ गाविस बाढीको उच्च जोखिममा रहेका छन् । उच्च जोखिममा रहेका ३३ गाविसका ६ हजार ४०२ परिवारका ३८ हजार ४१२ जना बाढीबाट प्रभावित हुने गरेका छन् । पैसठ्ठी परिवारका ३९० जनसङ्ख्यालाई त झन् प्रतिवर्ष बाढीका कारण विस्थापित नै हुनुपर्ने अवस्था रहेको सो प्रतिवेदनमा औँल्याइएको छ ।

कोसीसहित एक दर्जन बढी नदीले सप्तरी सदरमुकाम राजविराजलगायत विभिन्न ६३ भन्दा बढी गाविसलाई प्रभाव पार्ने गरेको छ । कजरा, मुतनी, घोडदह, भलुवाही, गङ्गाजली, जिता, सुरुङ्गा, पौडा, विहुल, फाँची, सिंहेश्वर, अमहा, खाँडो, महुली र कोसी नदीले वर्षेनी ठूलो परिमाणमा धनजनको क्षति हुने गरेको प्रतिवेदनमा जनाइएको छ । यस्तै बाढीको उच्च जोखिममा रहेको सप्तरीको ३३ गाविसमा हरेक वर्ष साढे ४ अर्ब रुपैयाँभन्दा बढीको क्षति हुने गरेको छ । प्रतिवेदनमा भनिएको छ – पाल्तु जनावर, बालीनाली तथा अन्य सम्पत्ति गरी बाढीको उच्च जोखिममा रहेको ३३ गाविसमा प्रतिगाविस वर्षेनी १३ करोड ४२ लाख मूल्य बराबरको क्षति हुने गरेको छ । जिल्ला विपद् उद्धार समितिका अध्यक्षसमेत रहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले मनसुनी वषर्ासँगै सुरु हुने बाढीको जोखिमलाई न्यूनीकरण गर्न सबैले आ-आफ्नो स्तरबाट पहल गर्नुपर्ने बताउनुहुन्छ ।

आफ्नो स्रोत र साधनले जिल्लाको सम्पूर्ण जोखिमयुक्त गाविसमा सेवा पुर्‍याउन नसकिने भएकाले जोखिम न्यूनीकरण, राहत तथा उद्धारको काममा सबै सरोकारवालाहरुले सहयोग गर्नुपर्ने नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतको कथन छ । रासस