‘कामरेड’ बनिन् रेखा थापा ! (भिडियोसहित)
प्रचण्डसँग पहिले 'डान्स पार्टी' अहिले साँच्चैको पार्टी प्रवेश !
प्रचण्डसँग पहिले 'डान्स पार्टी' अहिले साँच्चैको पार्टी प्रवेश !
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg6cNh3Kz-Zy47l18tbwjCVGKB20dHCztttRILFV-X0kRqpF4Jy9MZymmweO2eyEdcyYHKXd6F9xXAacpB830-XeYMROjHlEfNYxuJH6uP_lThptNlwhXXcteO7vtLX6PGq1AvpNE9vymMy/s1600/main.jpg)
४ जेठ, काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश गर्नुभएको छ । शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य उर्मिला अर्यालसँगै प्रचण्डका हातबाट टीको लगाएर एमाओवादीका प्रवेश गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रचण्डले नायिका थापा र अर्याल दुबैलाई क्षमताअनुसारको जिम्मेवारी दिइने बताउनुभएको छ । एमाले नेतृ अर्याल २४ वर्षपछि एमाले छाडेर प्रचण्डको पार्टीमा फर्कनु भएको हो । रेखा पहिल्यैदेखि माओवादी निकट रहेको चर्चा चले पनि औपचारिकरुपमा पार्टीमा प्रवेश गर्न बाँकी थियो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEin-GuYfffxRGsyXrtyxNOPaY0t1cCLgRZK32u5Mfut1_ezmGCgWdFxEwoIn5PIxrhZ_l9u4wCUV6kn8P1NrXTlMFiw0NH0eUZkdPn-PNzkg0M8RqAHlRh31PMc5hfyUnY7-FnwPVBFPHsU/s640/r2.jpg)
वैद्य र बादलले रेखासँग नाच्न लगाए : प्रचण्ड
केहीवर्षअघि काठमाडौंमा आयोजित सडक आन्दोलनमा रेखा थापासँगै नाच्नुभएका प्रचण्डले पार्टी प्रवेश कार्यक्रममा सो घटनालाईसमेत कोट्याउनुभएको छ । रेखाले नाच्न बोलाएपछि आफूले वैद्य र बादललाई सोधेको र उहाँहरुले नाच्न भनेपछि आफूले थापासँग नाचेको प्रचण्डले बताउनुभयो ।
घर फर्केको अनुभव भयो : अर्याल
पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य उर्मिला अर्यालले आफूलाई पुरानो घर फर्केको अनुभव भैरहेको बताउनुभयो । अर्याल ०४६ सालअघिसम्म प्रचण्डकै पार्टीमा हुनुहुन्थ्यो । उहाँ तत्कालीन अनेमसंघको केन्द्रीय अध्यक्षसमेत हुनुहुनथ्यो । पर्सा निवासी अर्याल झलनाथ खनाल नेतृत्वको सरकारमा मन्त्रीसमेत हुनुहुन्थ्यो ।
मेरो रगतमा राजनीति छ : नायिका थापा
कार्यक्रममा रेखा थापाले आफ्नो पूर्खाको रगतमा राजनीतिक रहेको बताउनुभयो । साथै उहाँले एमाओवादी पार्टी गरिबको पक्षधर भएकाले आफू त्यसमा आवद्ध भएको बताउनुभयो । थापाको भनाइलाई पुष्टि गर्दै प्रचण्डले नायिका थापा शहीद क्याप्टेन यज्ञबहादुर थापाकी नातिनी भएको बताउनुभयो । एमाओवादीले तत्कालीन माधव नेपाल सरकारविरुद्ध गरेको सडक आन्दोलनका बेला प्रचण्डसँग नाचेकी थापालाई सोही घटनादेखि एमाओवादी निकट कलाकार मानिँदै आएको थियो । यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला कलाकारले गरेको सरकारविरोधी आन्दोलनमा रेखाको सहभागिता थिएन । थापाले आफूलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउन प्रचण्ड र बाबुरामसँग लविङ गर्दै आउनुभए पनि उहाँलाई बोर्डमा ल्याइएको थिएन ।