खेलाडीसमेत रहेका एमाओवादी कार्यकर्ताको हत्या

२६ वैशाख, बारा । तेक्वान्दोका राष्ट्रिय खेलाडीसमेत रहेका बारा कलैयाका एमाओवादी कार्यकर्ताको बुधबार राति हत्या भएको छ । राति साथीको बिहेभोज खाएर र्फकँदै गरेका राजेन्द्र मण्डललाई पछाडिबाट धारिलो हतियार प्रहार गरी हत्या गरिएको एमाओवादी भोजपुराकी नेतृ अञ्जना बिसंखेले अनलाइनखरलाई जानकारी दिनुभयो ।



‘मृतक मण्डल एकीृकत माओवादीको भोजपूरा राज्य कमिटी इञ्चार्ज एवं निर्वाचन क्षेत्र नं ३ को सहइञ्चार्ज हुनुहुन्थ्यो ।’बिसंखेले भन्नुभयो-’उहाँ मध्यमाञ्चल खेलकुदका उपाध्यक्ष एवं राष्ट्रिय खेलाडीसमेत हुनुहुन्थ्यो ।’

घटनामा भारतबाट कलैया आई मामा घरमा बस्दै आएका अञ्दाजी २२ वर्षका प्रमोद मण्डलको सहभागिता रहेको एमाओवादीको दाबी छ । मण्डललगायत घटनामा संलग्न थप ३ जना फरार रहेको बिसंखेले बताउनुभयो । मण्डलको कसैसँग झगडा नरहेको र नियोजित ढंगले हत्या भएको बताउनुभयो ।

मृतकको शब नारायणी अस्पतालमा पोष्टमार्टम गरी जिल्ला प्रशासन कार्यालयमा राखिएको र एमाओवादी कार्यकर्ताहरुले शबयात्राको तयारी गरिरहेको एमाओवादी भोजपुरा इञ्चार्ज प्रभु साहले अनलाइनखबरलाई बताउनुभयो । ‘दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न, मृतक परिवारलाई तत्काल राहतको घोषणा गर्न अनि मण्डललाई सहीद घोषणा गर्न हामी सरकारसित माग गछौं ।’ नेता साहले भन्नुभयो, हाम्रा मागप्रति राज्य सकारात्मक भएन भने आन्दोलनमा जान बाध्य हुनेछौं ।