उपराष्ट्रपति नगए पछि सहिद पुत्रले उद्घाटन गरे आदिवासी जनजातिको महाधिवेशन

२९ वैशाख, चितवन । ‘सम्पूर्ण आदिवासी जनजातिहरूको अभियान, पहिचानसहितको संघीय संविधान’ भन्ने नारासहित नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ। पहिलो पटक राजधानीबाहिर चितवनमा शनिबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म चल्नेछ। महाधिवेशन उद्घाटनअघि महासंघमा आबद्ध ५६ जातीय संगठनका प्रतिनिधि र समुदायले परम्परात वेशभूषा, बाजागाजा, झन्डा बोकेर बृहत् सांस्कतिक झाँकीसहितको ¥याली निकालेका थिए। सो र्याली चितनवको चौबीसकोटी, पुलचोक, रमाइलो चोक हुँदै वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा आएर सभामा परिणत भएको थियो।

महाधिवेशनमा समारोहको प्रमुख अतिथिका लागि आमन्त्रण गरिएका उपराष्ट्रपति परमानन्द झा अनुपस्थित भएपछि सहिदद्वय धनबहादुर थारू थनेत र कमल चौधरीका छोराहरूबाट उद्घाटन गरिएको थियो। महाधिवेशन समारोहलाई सम्बोधन गर्दै संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पहिचानको विरुद्धमा अकल्पनीय षड्यन्त्र भइरहेको बताए। ‘पहिचानको विरुद्धमा हामीले सोच्नै नसक्ने षड्यन्त्र भएका थिए । त्यो षड्यन्त्र अहिले पनि जारी छ,’ राईले भने, ‘त्यसैले अब झन् आदिवासी जनजाति एकता बलियो हुनुपर्छ ।’ उनले पछिल्लो समय आदिवासी जनजाति आन्दोलन गौरवशाली हुँदै गएको र त्यसले केही हदसम्म उपलब्धि प्राप्त भएको बताएको खबर राजधानी दैनिकमा खबर छ ।