पाकिस्तानी तालिवानद्धारा मुर्सरफको हत्या गर्ने पुनः चेतावनी

१२ जेठ, एजेन्सी । पाकिस्तानको तालिवान समूहले आइतबार पूर्व सैनिक शासक परवेज मुर्सरफलाई मार्ने धम्की पुनः दिएको छ । उनीमाथि हाल अनेकौँ आरोप लागेका छन् र हाल प्रहरी हिरासतमा रहेका छन् ।



उनीमाथि पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्या गरेको, सन् २००७ मा न्यायाधीशलाई बर्खास्त गरेको तथा बलुचका एक विद्रोही नेताको सन् २००६ मा भएको हत्यामा संलग्न भएको आरोप लगाइएको छ ।

स्वनिर्वासित जीवन बिताएर गत मार्चमा फर्किएका मुर्सरफलाई फर्केलगत्तै मार्ने धम्की दिइएको थियो । उनले आफू शासनमा रहँदा लडाकूहरूमाथि पनि नियन्त्रण कायम गरेका कारण पनि उनीसँग तालिवानीहरु रुष्ट छन्।

मुर्सरफले सन् १९९९ मा सत्ताच्युत गरी निर्वासनमा पठाएका नवाज सरिफले हालैको निर्वाचनमा विजय हासिल गरेपछि मुर्सरफलाई कुनै पनि अभियोग नलगाई मुलुकबाहिर जान दिने कुरामा सम्झौता हुनसक्ने आशङ्का गरिएको छ ।

मुर्सरफमाथि सन् १९९९ देखि २००८ सम्म तीनपटक हत्या प्रयास भइसकेको छ र उनी जोगिँदै आएका छन् ।