गोल्छा अर्गनाइजेसन सबैभन्दा ठूलो रोजगारदाता, आईएमईले भित्रायो सवा खर्ब

१५ जेठ, काठमाडौं । गोल्छा अर्गनाइजेसनअन्तर्गत रहेको जुट उद्योग अरिहन्त मल्टिफाइबर्स यो वर्ष पनि सबैभन्दा बढी रोजगारी दिने कम्पनी बनेको छ । सरकारी आँकडाअनुसार यो कम्पनी विगत लामो समयदेखि सबैभन्दा बढी रोजगारी दिने कम्पनीको रुपमा रहँदै आएको छ ।



कूल ४ हजार ९ सय ७३ जनालाई प्रत्यक्ष रोजगारी दिएको यो उद्योगले आर्थिक वर्ष २०६८/०६९ को महत्वपूर्ण व्यावसायिक व्यक्ति णसिआइपी) सम्मान पाउने भएको छ । व्यापार तथा निकास प्रवर्द्धन केन्द्रले बढी रोजगारी प्रदान गरेबापतको सम्मान उक्त कम्पनीलाई प्रदान गर्ने प्रस्ताव गरेको छ ।

यस कम्पनीले उत्पादित जुट मुख्यतः भारत निर्यात गर्दछ । विगतमा नेपालमै सनपाट उत्पादन हुने गरेकोमा पछिल्लो समय भारतबाटै आयात हुने गरेको छ । औद्योगिक वातावरणको अभावमा नेपालमा रहेका धेरै जुट मिल बन्द भइसकेका छन् ।

भारततर्फको उच्च निर्यातबापतको सम्मान आरती स्टि्रप्स र डाबर नेपालले पाउने भएका छन् । यी दुवै उद्योग भारतीय लगानीमा स्थापित हुन् । आरतीले जस्ता पाता उत्पादन गर्दछ भने डाबरले विभिन्न खुद्रा उपभोग्य र शक्तिवर्द्धक सामग्री उत्पादन गर्दछ । दुवै कम्पनीले अधिकांश उत्पादन भारतमा निर्यात गर्दछन् ।

आरती स्ट्रिप्सले एक आर्थिक वर्षमा १ अर्ब २४ करोड रुपैयाँको निर्यात गरेको छ । यस्तै, डाबरले ९१ करोड रुपैयाँको निर्यात गरेको थियो । एक आर्थिक वर्षमा भारतमा कूल निर्यात ५० अर्ब भएको थियो । कुल निर्यातको ६७ प्रतिशत भारतमा हुने गर्छ ।

सबैभन्दा बढी रेमिटान्स भित्राएबापतको सम्मान आईएमई रेमिटले पाउने भएको छ । एक आर्थिक वर्षमा ३ खर्ब ६० अर्बको कूल रेमिटान्स आप्रवाह भएकोमा आईएमईले मात्र एक खर्ब २३ अर्ब रुपैयाँ भित्राएको छ । नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिई दुई दर्जन कम्पनीले रेमिटान्स भित्राउने सेवा प्रवाह गरिरहेका छन् । यसबाहेक वाणिज्य बैंकले पनि रेमिटान्स कारोबार गर्दछन् ।