‘जसको ताप छैन, उसको नाम प्रचण्ड’

१५ जेठ, काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले बुधबार नयाँ बानेश्वरमा आयोजित नागरिक गणतन्त्र सभामा प्रमुख दलका नेताहरुको नाम अनुसारको काम नभएको भन्दै ब्यंग्य गर्नुभयो । ‘जसको ताप छैन, उसको नाम प्रचण्ड’ गजुरेलले भन्नुभयो- ‘जसले सिद्धान्तको झोला नै छाडिसक्यो, उसको नाम झोला (झल)नाथ, अनि जसले बोलेको केही पनि बुझिँदैन, उसको नाम सुशील ।’



भर्खरै ६ दिनसम्म ओशो तपोवनमा ध्यान गरेर फर्केका गजुरेलले खिलराख रेग्मीको राजीनामा मागेर सुनेर छक्क परेको बताउनुभयो । ‘यहाँ खिलराजको राजीनामा मागेको सुन्दा मलाई अचम्म लाग्यो, खिलराजलाई प्रधानमन्त्री बनाउने चार दलका शीर्षनेतालाई चाँहि गाली नगर्ने ?’ गजुरेलले लोकमानसिंह कार्कीलाई गाली गर्नुभन्दा उनलाई अख्तियार प्रमुख बनाउनेलाई गाली गर्नुपर्ने बताउनुभयो । ‘ जसले लोकलाई मान्दैन, उसैको नाम लोकमान छ, जसको सिङ छैन, उसैको नाम तीखे भनेको यही हो ।’ गजुरेलले भन्नेभयो ।

जबसम्म मुलुकमा सामान्य नागरिकले गणमतन्त्रको महसुस गर्दैनन्, तबसम्म सच्चा गणतन्त्र आएको नठहरिने उहाँको तर्क थियो । साथै गणतन्त्रमा हरेक नागरिकमा गणतान्त्रिक संस्कार हुनुपर्ने उहाँले बताउनुभयो । नागरिक अगुवा एवं पेशागत सञ्जाल पापडको आयोजनामा नयाँ बानेश्वर चौकमा बिहान ९ बजेदेखि नागरिकका तर्फबाट गणतन्त्र दिवसको आयोजना गरिएको छ । कार्यक्रममा पत्रकार कनकमणि दीक्षित, मानवअधिकारवादी अगुवा सुशील प्याकुरेल लगायतको सक्रियता रहेको छ । कार्यक्रममा स्वतस्फूर्त नागरिकहरु सहभागी छन् ।