अपराधीसँगको सम्बन्धबारे सोध्दा गच्छदारले भने- आत्महत्या गर्छु

२२ बैशाख, काठमाण्डौ । दुई बर्षअघि राजधानीको घण्टाघरमा इस्लामी संघका अध्यक्ष फैजान अहमदलाई गोली हानी हत्या गर्ने गिरोहका मुख्य योजनाकारको सम्बन्ध तत्कालीन गृहमन्त्री बिजयकुमार गच्छदारसँग भएको खुलेको छ ।



प्रहरी अनुसन्धानले हत्याका मुख्य योजनाकार ठहर गरेका बब्बु र त्रिलोक सिंह उपनामका दीपक शाहीले फैजान हत्याअघि र पछि पनि पटकपटक गच्छदारको मोबाइलमा सम्र्पक गरेको अनुसन्धानबाट खुलेको छ ।

फैजानलाई हत्या गर्न काठमाण्डौं आएका भारतीय नागरिकहरुले दुईवटा भारतीय नम्बरहरु ००९१-९८११३८६६५१ र ००९१-९००५७७४७०५ मा दर्जनौँ पटक सम्र्पक भएको देखिन्छ । अनुसन्धानका क्रममा ती दुवै नम्बर संचार उद्यमी जमिम शाह हत्याका लागि काठमाण्डौमा रहेर योजना बनाएका दीपक शाहीको भएको खुल्यो ।

शाहीको नम्बरलाई आधार बनाएर अनुसन्धानमा जुटेको प्रहरी त्यतिबेला चकित पर्‍यो, जव उनका दुवै नम्बरबाट देशका उपप्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदारले प्रयोग गर्ने ९८५१०-३३४५० नम्बरमा फैजान हत्या अघि र पछि पनि पटकपटक सम्र्पक भएको देखियो । शाहीले गच्छदारको फोनमा सातपटकसम्म कुरा गरेका छन तर गच्छदारले कलब्याक गरेको देखिन्न । शाही र गच्छदारवीच दुस्मनीका कारण पो सम्बाद भएको हो कि भनेर प्रहरीले अनुसन्धानको दायर फराकिलो बनाए पनि त्यस्तो भेटिएन् । त्यसपछि प्रहरी हार खाएर अनुसन्धानको फाइल बन्द गरेर बसेको आइतवार प्रकाशित नेपाल साप्ताहिकले छापेको छ ।

आत्महत्या गर्छु- गच्छदार

दुई जना नेपाली नागरिकको हत्याको मुख्य योजनाकारले आफुलाई सम्पर्क गरेकोबारे कुनै जानकारी नभएको गच्छदारले दावी गरेका छन । देशका गृहमन्त्रीलाई टेलिफोन त जसले पनि गर्न सक्छ, त्यसलाई नकरात्मक रुपमा लियो भने नकरात्मक नै हुन्छ’गच्छदारले भने-म शाहीलाई चिन्दा पनि चिन्दिन, संसारको कुनै पनि जासुसी संस्थाले अपराधीसँग बिजयकुमार गच्छदारको साँठगाँठ भएको प्रमाणित गरिदियो भने म आत्महत्या गरिदिन्छु ।’

फैजान हत्या हुनुअघि र पछि पनि तपाईको फोनमा सम्र्पक भएको देखिन्छ नी भन्ने प्रश्नमा गच्छदार भन्छन- गृहमन्त्रीको नम्बरमा जोसुकैले फोन गर्न सक्छन, म यो कुरा सारा संसारलाई सिधा भन्न सक्छु । टुंडिखेल वा सुन्धारामा उभिएर भन्नु परेपनि हिचकिचाउँदिनँ । गृहमन्त्रीको डेढ बर्षे कार्याकालमा चिनेका दुई चारवटा नम्बरबाट आएका फोन उठाएँ होला मैले, त्यसबाहेक मोबाइल डाइरेक्ट उठाएको छैन ।’