यदी अझ पनि एमाओवादी नेताहरु नसुध्रिने हो भने जनताले झुण्ड्याउने छन् ।": प्रचण्ड

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता र जनताको भावना बिपरीत् बाटोमा लागेर आफूहरु बिग्रिएको स्विकारेका छन । सर्लाहीमा आइतबार दिउँसो आयोजित मधेस ब्यूरोस्तरीय आन्तरिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने "यदी अझ पनि नसुध्रिने हो भने, एमाओवादी नेताहरुलाई जनताले झुण्ड्याउने छन् ।"



आन्तरिक प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै उनले भने "कार्यकर्ताभन्दा हामी धेरै बिग्रियौं, जनताले अपेक्षा गरेको भन्दा कहाँनेर बिग्रियो, छुट्याउन गाह्रो छ । 'विचार समूहका नाममा हामीले गुट बनायौं । अब पनि हामी रुपान्तरित नहुने हो भने जनताले हामीलाई झुन्ड्याउँछन् ।'

सोभियत संघका कम्युनिष्ट नेता लेनिनले बोल्सेभिक पार्टीले राम्रो काम नगरे जनताले झुन्ड्याउने बताएको स्मरण गराउँदै प्रचण्डले कार्यकर्ताहरुसँग भने 'हाम्रो पनि त्यही हालत हुनेछ ।' कसैले अहिले पार्टीमा लागेर घर र केही सम्पत्ति जोड्यौं भन्ने ठानेको छ भने जनताले फ्याँकिदिन्छन् ।' यसै विच उनले देश र पार्टीलाई भर्याङ बनाएर सम्पत्ति नकमाउन कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

आफुहरु सुधारको बाटोमा हिड्नु पर्ने बताउँदै उनले भने 'हेटौडा महासधिवेशनले रुपान्तरणको कार्यदिशा ल्याएको छ, अब रुपान्तरण भएनौं र सुध्रिएनौं भने हामी सिद्धिन्छौं, त्यसैले हामीले तत्काल सुध्रिन जरुरी छ ।'