तालु खुइलिएको पुरुषहरु बढी सेक्सी हुने तथ्य सार्वजनिक

टाउकोमा भएका कपाल झरेर चिन्तित हुनुभएको छ भने तपाईका लागि केही राहतको खवर छ । आफुलाई ‘बुद्धिजीवी’ भनेर शान्त्वना दिँदै आउनुभएको छ भने अर्को पनि बिशेषण थपिने भएको छ- सेक्सी । अर्थात तपाई तालुमा कपाल हुने भन्दा बढि कामोत्तजक हुनुहुन्छ । चर्चित तीन पुरुष बु्रस विलिस, आन्द्र आगासी र माइकल जोर्डन तीनैजना आफ्नो क्षेत्रका महारथी हुन् ।



उनीहरुका धेरैजना महिला प्रशंसक छन् र तीन जनाकै तालु खुइलिएको छ । भनिन्छ, कामोत्तेजनाको कारण हर्मोन टेस्टोस्टेरोनले कपाललाई पनि कम गरिदिन्छ यानि जसको कपाल कम हुन्छ उसको कामोत्तेजना बढी हुन्छ, उनीहरु वीर्यवान हुन्छन् । तर यो कुरा यति सरल भने छैन् बरु बढी जटिल छ । वास्तवमै भन्ने हो भने तालु खुइलिनुको सम्बन्ध टेस्टोस्टेरोन हर्मोनसँग जोडिएको हुन्छ । सन् १९६० मा येल विश्वविद्यालयका एक चिकित्सक जेम्स बी हेमिल्टनले अण्डकोष निकालिएका बालकको अध्ययन गरेका थिए । त्यो बेला मानसिक समस्या भएका बालकको अण्डकोष निकाल्ने चलन थियो । हेमिल्टन यी सवै किशोरको सम्पर्कमा रहेका थिए । कोही कोहीसँग त उनले १८ बर्षसम्म भेटेका थिए ।

उनीहरुमा गरेको अध्ययनमा डा. हेमिल्टनले उमेर बढ्दै गएपछि यी किशोरको कपाल नझरेको पाए जबकि सामान्य मानिसको कपाल भने झरेको थियो । टेस्टोस्टेरोन र तालु खुइलिनुको सम्बन्ध खोज्ने हेमिल्टन पहिलो व्यक्ति थिएनन् । यसअघि चिकित्साशास्त्रका पिता मानिने हिप्पोक्रेट्स र अरस्तुले शताब्दीयौं पहिले यो कुरा बताइसकेका थिए। हेमिल्टनले आफ्नो शोधमा रगतमा टेस्टोस्टेरोनको मात्रा र कपाल झर्नेबीच सम्बन्ध रहेको पाए । जसमा यो हर्मोनको मात्रा कम थियो उसमा कपाल झर्ने समस्या थिएन् । मानव शरीरमा एक प्रकारको इन्जाइम हुन्छ जसले टेस्टोस्टेरोनलाई डाइहाइड्रोटेस्टोस्टेरोनमा परिवर्तन गरिदिन्छ र यसले कपालको छिद्रलाई सानो बनाइदिन्छ । छिद्र सानो भएपछि कपालको जीवनचक्र पनि छोटो हुन्छ र कपाल पातलो हुँदै जान्छ । यो शरीरको माथिल्लो भागबाट सुरु हुन्छ र कपाल र्झन थाल्छ । तर, अनौठो कुरा के हो भने कपालको छिद्र कम हुने प्रक्रिया टाउकोमै मात्र सीमित हुन्छ । गालाको कपालको छिद्र भने सामान्य नै हुन्छ त्यसैले उनीहरुमा दाह्री भने आइरहन्छ । कपाल नझर्ने मानिसमा टेस्टोस्टेरोनलाई परिवर्तन गरिदिने इन्जाइम कम पाइन्छ । अहिले भने बैज्ञानिकहरुले फिनेसट्राइड भन्ने उपाय पत्ता लगाएका छन् जसले. इन्जाइमलाई राकिदिन्छ तर यो प्रक्रिया निकै महँगो हुन्छ । बैज्ञानिकहरुले कपाल उम्रन किन रोकिन्छ भन्ने जान्न अनुसन्धान गरिरहेका छन् तैपनि ठोस जवाफ भने आएको छैन् ।