आदिवासी जनजातिले कालो झण्डा देखाउने तयारी गरेपछि दाहाल प्रचण्डको हङकङ कार्यक्रम स्थगित

विमानले समेत धोका दियो, नेपाल आउन आधाघण्टा ढीलो

७ बैशाख, काठमाडौं । आदिवासी जनजातिले कालो झण्डा देखाउने तयारी गरेपछि शनिबार हङकङमा एमाओवादी अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डको सार्वजनिक कार्यक्रम स्थगित भएको छ ।



पार्टी कार्यकर्ता एवं नेपाली शुभेच्छुकसँग समसामयिक परिस्थितिबारे सामुहिक छलफल गर्ने कार्यक्रममा आदिवासी जनजातिले कालो झण्डा देखाउने तयारी गरेको सूचना पाएपछि उनी सिधै चाइना बोर्डरबाट सीधै एयरपोर्ट गएको हङकङस्थित पत्रकार किसन राईले अनलाइनखबरलाई बताउनुभयो । हङकङमा रहेका आदिवासी जनजातिले बाहुनलाई फिर्ता बोलाई जनजाति मूलको महावाणिज्यदूत पठाउन नेपाल सरकारसँग माग गर्दै आएका छन् ।

‘हङकङको महावाणिज्यदूत गैरजनजाति व्यक्तिलाई पठाइएको विरोधमा सार्वजनिक कार्यक्रम गर्न नदिने भनेपछि प्रचण्ड सीधै एयरपोर्ट गए ।’-राईले भन्नुभयो । पत्रकार एवं अशोक राई समर्थित संघीय समाजवादी पार्टीका नेतासमेत रहनुभएका राईका अनुसार प्रचण्डले हंगकंग विमानस्थलस्थित रिगल होटलमा नेपाल चेम्बरर्स अफ कमर्सका अध्यक्ष जगन्नाथ ज्ञवाली, एनआरएनका अध्यक्ष दूर्गाबहादुर गुरुङ लगायतसँग भेटगर्नुभएको छ । तर, कालोझण्डाको तयारीपछि सार्वजनिक कार्यक्रम स्थगित भएकाले केही कार्यकर्ताहरुले सोही होटमा पुगेर प्रचण्डसँग भेट गरेको राईको भनाइ छ ।

प्रचण्डको पूर्वनिर्धारित विमान नेपाल एयरलाइन्सले समेत धोका दिएको छ । नेपाल एयरलाइन्सको फ्लाइट रद्द भएपछि चीन भ्रमणबाट फर्किएको प्रचण्डको टोली शनिबार राति साढे दश बजेमात्रै काठमाडौं ओर्लने भएको छ । यसअघि प्रचण्ड ९:५० मा काठमाडौं आउने बताइएको थियो ।