२ बैशाख, काठमाण्डौ । नेपाल दूरसंचार प्राधिकरणबाट एकीकृत सेवा संचालनका लागि लाइसेन्स पाएको स्मार्ट सेलले आठ महिनाभित्रै काठमाण्डौमा जीएसएम मोबाइल सेवा सुरु गर्ने भएको छ ।
प्राधिकरणको बिहीवारको बोर्ड बैठकबाट लाइसेन्स पाउने निर्णय भएसँगै स्मार्टले शुक्रबार नै लाइसेन्स शुल्क र नविकरण बापतको पहिलो किस्ता स्वरुप दुई अर्ब रुपैयाँ प्राधिकरणलाई बुझाईसकेको छ । स्मार्टका प्रमुख कार्यकारी अधिकृत सुवास बज्राचार्यका अनुसार आजै स्मार्टले प्राधिकरणबाट लाइसेन्स पाउने भएको छ ।
बज्राचार्यले जीएसएम मोवाइल सेवा थाल्न सवैखाले तयारी गरिएको बताए । ‘आगामी ६ देखि आठ महिनाभित्रै काठमाण्डौं उपत्यकामा जीएसएम सेवाको सफ्ट लन्च गर्छौं’ बज्राचार्यले भने । मोबाइल बजारमा आफ्नो बलियो उपस्थीति जनाउने योजनामा रहेको स्मार्टले तत्काल साढे ४ अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ ।
स्मार्ट मोबाइलका हाल मुलुकभर करिव ६ लाख ग्राहक रहेका छन । ग्रामीण दुरसंचार सेवा स्थापनाका लागि लाइसेन्स लिएको स्मार्टले ३९८ गाउँमा सेवा स्थापना गरेपछि आफ्नो सेवालाई अन्य क्षेत्रमा पनि विस्तार गरेको थियो । स्मार्टमा सिंगापुरको लाल साहु कम्पनीको ७० प्रतिशत सेयर लगानी रहेको छ ।
नेपाल दूरसंचार प्राधिकरणले शुक्रबार नै स्मार्ट र एकीकृत लाइसेन्सको अनुमति पाएको युटिएललाई शुल्क तिरेर लाइसेन्स लिन पत्राचार गरेको थियो । स्मार्टले लाइसेन्स शुल्क, बैंक ग्यारेन्टी लगायतका तयारी सकेका कारण सोमबार नै लाइसेन्स पाउने छ भने युटीएलले आजदेखि लाइसेन्सका लागि प्रकृया सुरु गर्ने बताइएको छ ।
चौधरीले किन पाएनन लाइसेन्स ?
स्मार्ट र युटीएलसँगै एकीकृत लाइसेन्सका लागि आबेदन दिएको बिनोद चौधरीले हालै किनेको कम्पनी एसटीएमले भने एकीकृत लाइसेन्स पाएन् । बिनोदले किनेर सीजी टेल नामाकारण गरिएको सो कम्पनीसँग सेवा संचालनका लागि कुनै पनि पूर्वाधार नभएका कारण लाइसेन्स नपाएको दूरसंचार प्राधिकरणले जनाएको छ । जसका कारण उ तत्कालका लागि आधारभूत दूरसञ्चार सेवाको अनुमति पाउनबाट बञ्चित भएको छ ।
बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले दुई दूरसञ्चार कम्पनी यूटीएल र स्मार्टलाई सबै खालका दूरसञ्चार सेवा सञ्चालनको अनुमति दिने निर्णय गरेको थियो । यूटीएल र स्मार्टसँग आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्रका लागि निवेदन दिएको एसटीएमको सम्भाव्यता र प्राविधिक क्षमता अध्ययन गर्न गएको प्राधिकरणको टोलीले मोबाइल सेवा सञ्चालनका लागि आवश्यक ब्याकबोन नेटवर्क र एक्सेस नेटवर्क दुवै नभएको प्रतिवेदन दिएको थियो ।
प्राधिकरणले एसटीएमलाई एकीकृत दूरसञ्चार अनुमतिपत्र दिने पक्का गर्दै त्यसका लागि पहिले पूर्वाधार तयार गर्न भनेको छ । जसअनुसार एसटीएमले अझै अनुमतिपत्रका लागि चार महिनामा विभिन्न क्षेत्रमा कम्तिमा एक इलाकामा एक बीटीएस गरेर एकसय ५० बीटीएस बनाउनु पर्छ ।
प्राधिकरणका एक अधिकारीले अनुमतिपत्र र फ्रिक्वेन्सी पाउँदा पनि त्यसको प्रयोग गर्न नसकेको कम्पनीको बिगत देखेर पनि पूर्वाधार बनाउने र सेवा सञ्चालन गर्ने आधार नदेखेको बताए । अहिले यूटीएल र स्मार्टले अनुमतिपत्र लिन साथै सेवा विस्तारमा देखाएको आक्रामक शैली हेर्दा चौधरीलाई यो समय निक्कै लामो र घाटाको हुनेछ ।
एसटीएमले अहिलेसम्म भिस्याट प्रविधि प्रयोग गरेर सेवा दिँदै आएको थियो । एसटीएमले भीस्याटको माध्यमबाट पाँच सय ३४ गाउँ विकास समितीमा दूरसञ्चार सेवा पुर्याएको थियो । त्यसका लागि सरकारले उसलाई अनुदान पनि दिएको थियो । पछिल्लो समयमा जीएसएम र सीडीएमए मोबाइल गाउँसम्म पुगेपछि एसटीएमको भिस्याट फोन प्रयोग पनि कम भएको थियो ।
भिस्याट फोन सीडीएमए तथा जीएसएम भन्दा महँगो भएकाले उसका ग्राहक पनि घटेका थिए । साथै उसले ग्राहकलाई मर्मत तथा सेवा बिक्रिपछि दिनुपर्ने सेवा पनि दिन छोडेको थियो । एसटीएमले लिमिटेड मोबिलिटी साथै मोबाइल सेवा सञ्चालनका लागि जीएसएमका फ्रिक्वेन्सी र अनुमति पाएपनि सेवा सञ्चालन तथा ग्राहक विस्तार गर्न सकिरहेको छैन ।
८ महिनाभित्रै काठमाण्डौमा स्मार्ट मोबाइल चौधरीले किन पाएनन एकीकृत लाइसेन्स ?