नुन र रक्सी कम गरेमा उच्च रक्तचापबाट बच्न सकिने, शहरमा बस्नेलाई बढी समस्या

८ बैशाख, काठमाडौं । शहरमा सुख, सुविधाजस्तै रोगको खानी पनि उत्तिकै हुने विशेषज्ञहरुले बताएका छन् । बढी व्यस्त जीवनशैली, व्यायामको अभाव र खानपानमा ध्यान नदिने जस्ता कारणले शहरमा बस्नेहरुलाई उच्च रक्तचाप बढी हुने गरेको नर्भिक अस्पताल थापाथलीका मुटुरोग विशेषज्ञ डा.शिभाजी विक्रम सिलवालले बताउनुभयो ।



’तनाव, धेरै जंगफूडको सेवनले पनि उच्च रक्तचाप बढाउँछ’ डा. सिलवालले भन्नुभयो । मानसिक तनावसँगै बंशानुगत तत्व, मोटोपन, अध्यधिक नुनको सेव, रक्तनलीमा आउने कडापन लगायत कारणले पनि उच्च रक्तचाप हुन्छ । टाउको दुख्ने, चक्कर लाग्ने, छाती दुख्ने, दम फुल्ने, नाकबाट रगत आउने लगायतका लक्षण देखिएमा उच्च रक्तचाप हुने सम्भावना हुन्छ । खानपान र जीवनशैलीमा आएको परिवर्तनले विश्वका अरु देशमा जस्तै नेपालमा पनि उच्च रक्तचापका रोगीको संख्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।स्वास्थ्य मन्त्रालयमा कार्यरत चिकित्सक डा. रामहरि चापागाईंका अनुसार उच्च रक्तचापले हृदयघात, पक्षघात तथा मिर्गौला काम नलाग्ने सम्भावा हुन्छ । यस्तै आँखा नदेख्ने, मुटुले काम गर्न नसक्ने अवस्था समेत आउन सक्छ ।

डाक्टरको सल्लाह

औषधि उपचारभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी भन्ने भनाई सम्झेर खानपान र आनीबानी सुधार्न चिकित्सकले सल्लाह दिएका छन् । डा. चापागाईंका अनुसार उच्च रक्तचापको रोकथामका लागि तौल कम गर्ने, सुर्ती चुरोट सेवन बन्द गर्ने, मादक पदार्थ सेवन कम गर्ने, नुन कम प्रयोग गर्ने, दैनिक शारिरीक परिश्रम गर्ने, स्वस्थ खानेकुरा खाने र तनाव व्यवस्था गर्नुपर्छ । रोग लागेमा लगातार नछुटाइकन चिकित्सकको सल्लाह अनुसार औषधिको सेवन गर्नुपर्छ ।