बन्दमा क्याम्पसका विद्यार्थीलाई हातपात
देवेन्द्र बस्नेत, दाङ, चैत २५ - अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन प्रकृयाको विरोधमा नेपाल बन्द आह्वान गरेका बन्दकर्ताहरुले घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसका केही विद्यार्थीहरुलाई हातपात गरेका छन्। आइतबार बिहानै क्याम्पस बन्द गर्न पुगेका बन्दकर्ताहरुले क्याम्पसमा पढ्दै गरेका विद्यार्थीहरुलाई हातपात गरेका हुन्।
पढाई बन्द गर्न नदिने भन्दै विद्यार्थीहरुले बन्दकर्ताहरुलाई अवरोध गर्न खोजेपछि विवाद भएको थियो। बिद्यार्थीहरुले बिहानै क्याम्पसको मूलगेटमै 'बन्द निषेधित क्याम्पस' लेखिएको ब्यानर टाँगेर पढ्न बसेका थिए।
लाठीसहित क्याम्पस हाताभित्र छिरेका बन्दकर्ताहरुले क्याम्पस बन्द गर्न खोजेपछि बिद्यार्थीहरु प्रतिकारमा उत्रिएका हुन्। त्यस क्रममा बन्दकर्ताहरुले दुई बिद्यार्थीमाथि हातपात गरेका थिए। 'हामी पढ्न पाउनु पर्छ भनेर अघि सर्यौँ' बिद्यार्थी निरज गिरीले भने 'त्यस क्रममा उनी (बन्दकर्ता) हरुले म र मेरो साथी डिल्लीराज शर्मालाई हातपात गरे।'
प्रत्यक्षदर्शीका अनुसार बन्दकर्ताहरुले शर्मालाई ईटा प्रहार गर्दै लखेटेका थिए। क्याम्पस क्षेत्र बिहानभर तनावग्रस्त बनेको थियो।
क्याम्पसका बिद्यार्थी र बन्दकर्ताबीच हानाहानको स्थिति भएपछि त्यहाँ ब्यापक प्रहरी परिचालन गरिएको थियो। प्रहरी पुगेपछि बन्दकर्ताहरु फर्किएका थिए। क्याम्पसहातामा झडपको स्थिति बनेपछि दुई गाडीमा पुगेका प्रहरीहरुले कडा सुरक्षा दिएका थिए।
बिद्यार्थी र बन्दकर्ताबीच विवाद भएपछि क्याम्पसको पढाई बन्द भएको थियो।
यसैबीच नेकपा माओवादी लगायत साना दलहरुले गरेको बन्दले जिल्लाको जनजीवन आइतबार बिहानैदेखि प्रभावित बनेको छ। बन्दले जिल्लाको यातायातसेवा, बजार ठप्प छन्,भने शिक्षण संस्था पनि बन्द भएका छन्। बन्दकर्ताहरु बिहानैदेखि लाठीसहित सडकमा उत्रिएका छन्।