चितवनमा फेरि बर्डफ्लु भेटियो, स्थानीय त्रसित

७ वैशाख, चितवन । चितवनका दुई पोल्ट्री फार्ममा फेरि बर्डफ्लु प्रमाणित भएको छ । भरतपुर नगरपालिका-९ गोन्द्राङका लक्ष्मी राणा तथा मङ्गलपुर -७ का राजेन्द्र हमालको फार्ममा बर्डफ्लु प्रमाणित भएको हो । पक्षी अन्वेषण प्रयोगशाला भरतपुरले यही वैशाख २ गते नमुना थप परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाएकामा शुक्रबार अपराहृन बर्डफ्लु रहेको पुष्टि भएको हो । प्रयोगशाला भरतपुरका कर्मचारीका अनुसार गत चैत २६ गते नै राणाका खोरमा कुखुरा मरेको जानकारी भएपछि फार्म पुगेका कर्मचारीलाई र्फम सञ्चालक राणाले प्रवेशमा रोक लगाएपछि परीक्षण ढिलो भएको हो ।



राणाकामा झन्डै ६० हजार र हमालकामा चार हजार लेयर्स कुखुरा रहेको बताइएको छ । राति ९ बजेदेखि दुवै खोरका कुखुरा मार्ने काम भइरहेको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले बताउनुभयो । राणाका खोरमा ठूलो परिमाणमा कुखुरा मरिसकेको बताइएको छ ।



यसअघि गत महिना भरतपुर नगरपालिकाकै एक खोरमा बर्डफ्लु प्रमाणित भएको थियो । चितवन कुखुराजन्य व्यवसायको हिसावले अग्रणी जिल्ला मानिन्छ । जिल्लामा मात्र कुखुराजन्य क्षेत्रमा रु २५ अर्बभन्दा बढीको लगानी रहेको बताइएको छ । जिल्लामा यसरी धमाधम बर्डफ्लु भेटिन थालेपछि कृषक, व्यवसायी र सर्वसाधारण त्रसित भएका छन् । रासस