प्रेम विवाह गरेकी कमला मृत्युसँग लड्दै
धनगढी, २५ चैत । कञ्चनपुर जिल्ला पतिको कुटाईबाट छ महिनाकी गर्भवती कमला शाही ठकुरी गम्भीर
घाईते भएकी छन् । उनको धनगढीस्थित अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
कञ्चनपुरको पारसन गाविस वडा नमवर ९ स्थित ससुरालीको घरमा बस्दै आएका सेनु शाही ठकुरीले मदिरा सेवन गरेर ३५ वर्षीया कमलालाई विहीबार राति कुटपिट गरेका हुन् । कुटपिटबाट कमलाको छ महिनाको गर्भ समेत तुहिएको छ ।
‘कमलाको गर्भमा रहेको बच्चाको मृत्यु भएको छ,’ अस्पतालको ईमेरजेन्सी वार्ड ईञ्चार्ज कृष्ण बोहराले भने, ‘कुटपिटबाट गम्भीर चोट लागेका कारण गर्भ तुहिएको हो ।’ ‘घाईते कमलाको घाँटी, अनुहार र टाउँकोमा बढि चोटपटक लागेको छ,’ उनले भने ।
चार वर्षअघि सेनुसँग कमलाले प्रेम विवाह गरेकी हुन् । सेनु र कमलाका डेढ बर्षकी छोरी सम्झना पनि छिन् ।
कमलाको आर्थिक अवस्था कमजोर छ । उपचार खर्च नहुँदा कमलालाई झनै समस्या भएको उनले गुनासो गरिन् । उनले उपचारका लागि सहयोगको आग्रह समेत गरेकी छन् ।
अर्धचेत अवस्थामा रहेकी कमलाले तीनदिनदेखि केही खान सकेकी छैन् । हाल उनलाई सलाईन पानी मात्रै चढाउने गरिएको छ ।
पत्नीलाई कुटपिट गरेपछि पति सेनु फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।