‘तरकारी बेच्ने भेषमा' गाँजा तस्करी

मिथिलेश यादव, सिरहा, वैशाख ८- सिरहाको बडहरामाल-५ भुल्केबाट शनिबार प्रहरीले १९ किलो तयारी गाँजा बरामद गरेको छ। भुल्के चौकमा प्रहरी देखेर ढाकीमा भएको उक्त परिमाणको गाँजा छाडेर महिला भागेपछि प्रहरीले बरामद गरेको हो। महिलाको परिचय खुल्न नसकेको मिर्चैया प्रहरीले जनाएको छ।



‘तरकारी बेच्नेको भेषमा' आएकी महिलाले ढाकी लिएर आएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर नरेसराज सुवेदीले बताए। महिलाको पहिचान खुल्न नसकेको सुवेदीले बताए।

मिहिला व्यवसायिक गाँजा तस्कर भएको प्रहरीको ठहर छ। तरकारी बेच्नेको भेषमा गाँजा तस्करी गर्ने व्यवसायिक तस्कर भएको सुवेदीले भने। उनको पहिचान खुलाउने काम भैरहेको उनले बताए। 'लागु औषध फेन्सीडिल, कोरेक्सको तस्करीमा महिलाको संलग्नता प्रसस्तै भेटिएको छ,' उनले भने, ‘गाँजा तस्करीमा महिला संलग्नता पहिलो हो।' ती महिला पक्राउ परेपछि नयाँ गिरोहको तथ्य खुल्ने सुवेदीले बताए।