चीनमा भूकम्पबाट १५७ को मृत्यु, पाच हजार भन्दा बढी घाइते(भिडियोसहित)

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको समाचारमा जनाइएको छ । सो भूकम्पको उद्वारको कार्य भई नै रहेकोले मृत्यु हुनेको सङ्ख्या अझै एकीन हुन भने सकेको छैन ।



शनिबार विहान आएको सो भूकम्पबाट निकै ठूलो क्षति भएको अनुमान गरिएको । तर यसको वास्तविक क्षतिको विवरण आउन अझै धेरै समय लाग्ने पनि बताइएको छ । शनिबार अपरान्ह प्राप्त पछिल्लो विवरणअुनसार सो भूकम्पबाट तीन हजार जना गम्भीर रुपमा घाइते भएका छन् । घाइतेको उद्वार जारी नै रहेको पनि समाचारमा जनाइएको छ । चिनियाँ अधिकारीहरुले सयौँ व्यक्तिको मृत्युभएको वा उनीहरू घाइते भएको आशङ्का गरेका छन् । पाँच वर्षपहिले यसै क्षेत्रमा एउटा शक्तिशाली भूकम्पले व्यापक क्षति पु¥याएको थियो ।

स्थानीय भूकम्पविद्हरूले उक्त भूकम्प ७.० रेक्टर स्केलको भएको अनुमान गरेका छन् । अमेरिकी भौगोलिक सर्वेक्षणले उक्त भूकम्प ६.६ रेक्टर स्केलको भएको र त्यो पृथ्वीको सतहबाट १२ किलोमिटरभित्रैबाट सुरु भएको उल्लेख गरेको छ ।

उक्त भूकम्पपछि पनि अनेकौँ कम्प अनुभव गरिएको बताइन्छ । ती कम्पहरुपछि स्थानीय नागरिकहरु निकै त्रस्त बनेका छन् । उनीहरु विगतको शक्तिशाली भूकम्पबाट भएको व्यापक नरसंहारको त्रासले आतङ्कित बनिरहेको समाचारमा जनाइएको छ ।

स्थानीय समय अनुसार बिहानको ८ बजे गएको उक्त भूकम्पले पहिरो उत्पन्न गराएको तथा भवनहरू नष्ट गराएको बताइएको छ । हाल त्यहाँ व्यापक उद्वार कार्यलाई तीब्रता दिइएको छ । सयौँ सैनिकले उद्वारलाई तीब्रता दिएका छन् ।

उक्त भूकम्पका समयमा नजिकैका नगरका सयौँ व्यक्तिहरू सडकमा पुगेका थिए । उनीहरु आज विहानैदेखि सडकमै बसिरहेको बताइएको छ । उनीहरमा भूकम्पको ठूलो त्रास उत्पन्न भएको पनि समाचारमा उल्लेख छ ।

शनिबार अपरान्हसम्मको तथ्याङ्कअनुसार सो भूकम्पबाट हजारौँ घर नष्ट भएका छन् । अन्य भौतिक सम्पत्तिको क्षतिको लगत तयार भइरहेको छ । सयौँ व्यक्ति सो भूकम्पको भग्नाबशेषमा परेको आशङ्का गरिएको छ ।

सिचुआन भूकम्प विभागले याआन, लुसानमा गएको भूकम्पका कारण सयौँ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ । सन् २००८ मा भूकम्प जाँदा ८७ हजार व्यक्ति हराएको वा मरेका थिए ।

उक्त भूकम्पपछि सो समयमा उद्वारको काम प्रभावकारी रुपमा नभएको भन्दै सिचुआनका अधिकारीहरूको निकै आलोचना भएको थियो । सोही कारण यस पटकको भूकम्पपछिको उद्वारको कार्यमा भने अधिकारीहरुले निकै नै तीब्रता दिएका बताइएको छ ।

यसपटक स्थानीय अधिकारीहरूले तत्कालै उद्धारकार्य आरम्भ गरेका छन् र राष्ट्रपति सी जिनपिङले क्षति कम गर्न सकेसम्म प्रयास गर्न आदेश दिनुभएको छ । प्रधानमन्त्री ली केकियाङ याआनतर्फ जानुभएको जानकारी पिपुल्स डेलीले दिएको छ ।

भूकम्पप्रभावित क्षेत्रमा पुग्न चाहने उद्धारकर्मीहरूलाई सडक सफा गर्न सङ्घर्ष गर्नुपरेको र यसले उद्धार कार्य प्रभावित भएको बताइएको छ । चोङकिङसम्मका ठूला नगरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । यो नगरको जनसङ्ख्या तीन करोड रहेको बताइन्छ ।

सिन्ह्वा समाचार संस्थाले करिब दुई हजार सैनिक उक्त क्षेत्रमा पठाइएको जानकारी दिएको छ । चेङदु सैनिक क्षेत्र कमान्डका दुई हेलिकप्टर स्थलगतरूपमा क्षतिको अवस्था बुझ्न पठाइएको छ । विभिन्न स्थानबाट निकालिएका घाइतेहरुको उपचारका लागि आवश्यक मात्रामा स्वास्थ्यर्मीको प्रबन्ध गरिएको छ । एएफपी




भिडियो तल क्लिक गर्नु होला,