बलात्कृत भएर जन्माएकी वच्चाले आमाको नाता प्रमाणित गर्न पनि डिएनए परीक्षण !

२२ चैत, काठमाण्डौं । विदेशी भूमिमा बलात्कृत भएर वच्चा जन्माएकी एक युवतीको आमा नाता प्रमाणित गर्न डिएनए परीक्षण हुने भएको छ ।

 काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चुडामणि शर्माको आदेशबाट यस्तो परीक्षण हुन लागेको हो । साउदी अरवमा बलात्कृत भएर फर्केपछि वच्चा जन्माउन वाध्य भएकी एक पश्चिम नेपालकी युवतीको डिएनए परीक्षण राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानअन्तर्गत विधिविज्ञान प्रयोगशालाबाट हुन लागेको हो । ती युवतीको अहिले ६ वर्षकी भइसकेकी छोरीको संरक्षकत्वका विषयमा विवाद भएपछि आमाको नाता प्रमाणित गर्न शर्माले मंगलबार त्यस्तो आदेश दिए ।

खास गरी बाबु को हो वा कुनै व्यक्ति बाबु हो होइन भन्ने निक्र्योल गर्नका लागि मात्र डिएनए परीक्षण हुने परम्परा छ । बलात्कारबाट गर्भ बसेपछि एक चिलियन महिलाको सहयोगमा वच्चा जन्माएकी ती युवती तिनै महिलालाई छोरी जिम्मा लगाइ गाउू फर्केकी थिइन् । राजधानीमा उच्च खानदानका मानिसको संगतबीच हुर्किइरहँदा संरक्षकत्वको विषयमा एक गैरसरकारी संस्थाले उजुरी दिएपछि बालिकालाई सिडिओ शर्माले बालमन्दिर पठाएका थिए । 

हालै मात्र नयाँ घरजम गरिसकेकी ती युवती गोप्य रुपमा काठमाडौं आएर आफ्नी छोरी फिर्ता पाउन निवेदन दिएकी थिइन् । उनले निवेदनका साथ आमा भएको स्पष्ट देखाउने गर्ने जन्मदर्ता प्रमाणपत्र, चिलियन महिलालाई संरक्षकत्व दिएको प्रमाणलगायत पेश गरे पनि सिडिओ शर्माले डिएनए परीक्षणको आदेश दिएका हुन् । सिडिओले मंगलबार मात्र यस्तो अनौठो आदेश दिए पनि बालमन्दिरले युवतीलाई दुई हप्ता पहिल्यै डिएनए परीक्षणका लागि आवेदन गरी रगतको नमुना दिन लगाएको पाइएको छ । ‘जन्मदर्ता प्रमाणपत्र देखाउँदा पनि सिडिओले नमानेको खण्डमा पेश गर्नुपर्छ भनेर पहिल्यै त्यस्तो गर्न लगाइएको हो,’ एक जानकार बालमन्दिर स्रोत भन्छ ।

उच्चस्तरीय राजनीतिक पहुँच भएको एक परिवारको ‘इन्ट्रेस्ट’ जोडिएका कारण शर्माले ती बालिका र युवतीलाई अनावश्यक कानुनी चक्करमा पारेको बालमन्दिरका अधिकारीहरु आरोप लगाउूछन् । केही जानकारहरु भने आमाको नाताको सम्बन्धमा गर्न लागिएको डिएनए परीक्षण लाई नै अनौठो मान्छन् । ‘दुईटी महिलाले म आमा हुँ भन्दै दाबी गरिरहेको अवस्थामा पो डिएनए परीक्षण गर्ने त,’ उनीहरु भन्छन् । बालमन्दिरका अधिकारीहरुले डिएनए परीक्षणका लागि पहिल्यै पठाइसकिएको जानकारी गराउूदा शर्माले आफ्नो वा अदालतको आदेशबाट मात्र त्यो गर्न सकिने भन्दै अर्को परीक्षण गर्न आदेश दिएका हुन् । तर प्रयोगशालाले भने एउटै व्यक्तिको एउटै मुद्दामा दुई पटक परीक्षण नमुना लिन नमिल्ने भन्दै शर्माको आदेशअनुसारको नयाँ परीक्षण गर्न अस्वीकार गरिसकको छ ।


 ‘प्रयोगशालाले भन्यो कि आदेश मान्छौं तर नयाँ नमुना लिइराख्नुपर्दैन,’ बालमन्दिर अधिकारीहरुले भने, कान्तिपुर दैनिकमा खबर छ । ‘हामीले परेमा देखाउनुपर्छ भनेर परीक्षण गराएर बसेको, सिडिओले त नभइ हुन्न भने,’ बालमन्दिर स्रोत भन्छ । 

बालमन्दिर अधिकारीहरुका अनुसार शर्माले सुरुमा ती युवतीसूग कुरा गरेर वच्चा जिम्मा लगाउने भनेका थिए । ‘पछि एक चोटी प्रधानमन्त्री कार्यालयमा गएर सोधौं, अनि दिउँला भन्न थाले,’ अधिकारीहरु भन्छन्, ‘यो झन्झट हुन्छजस्तो लाग्या थिएन । एउटी आमाले छोरी खोज्दा प्रधानमन्त्री कार्यालयलाई कस्तो अनौठो चासो?’