कम्प्युटरमा भाइरस पसेको कसरी थाहा पाउने ? कसरी बँच्ने ?

हामी अहिले साइबर युद्धको युगमा छौँ । तपाइँलाई थाहै नदिइकन तपाइँको कम्प्युटर भाइरसद्धारा संक्रमित हुनसक्छ र अदृश्य ठाउँबाट कुनै ह्याकरले तपाइँको कम्प्युटर नियन्त्रण गरिरहेको हुनसक्छ । तपाइँको ल्यापटपका डाटाहरु साइबर अपराधीहरुले चोर्ने खतरा पनि हुन्छ ।



त्यसैले आफ्नो पिसिलाई ह्याक हुनबाट वा भाइरसबाट जोगाउन सचेत हुनुपर्छ । कम्प्युटरमा भाइरस घुसेको थाहा पाउने केही लक्षण निम्न छन् :

पिसीको गति निकै धिमा हुन्छ । कम्प्युटरमा धेरै डाटा लोड नहुँदा पनि गति निकै धिमा हुन थाल्छ ।

इन्टरनेट ब्राउजर आफै खुल्ने वा पपअप विन्डो आफै खुल्ने भयो भने पनि भाइरस छिरेको लक्षण हो । ब्राउजर बन्द गर्दा पनि बन्द हुनेबित्तिकै आफै खुल्ने लक्षण पनि भाइरस संक्रमणको हुनसक्छ ।

कम्प्युटरमा सेक्युरिटी विज्ञापन आफै देखिनु, ल्यापटप संक्रमित भएको चेतावनी जारी हुनु तथा सेक्युरिटी सफ्टवेयर डाउनलोड गर्न आफै सूचना पप अप हुन्छ । इन्टरनेट खोल्दा आफुले अर्कै बेवसाइट लगअन गरेको बेला अर्कैमा रिडाइरेक्ट हुनु ।

अनावश्यक वा चिन्दै नचिनेका वा अप्रासंगिक इमेल आउनु, फेसबुक वालमा आफुले पोष्ट गर्दै नगरेका कुराहरु पोष्ट हुनु ।

कसरी जोगिने ?

पेनड्राइभ ल्यापटपमा घुसाउँदा सुरुमा भाइरस स्क्यान गरिसकेपछि मात्र खोल्नुहोस् ।

तपाइँको इमेलमा आएको वा अरु कुनै साइट खोल्दा ध्यान दिनुहोस् । यदि उक्त वेबसाइट आधिकारिक वा सुरक्षित हो भन्नेमा तपाइँ ढुक्क हुनुहुन्न भने त्यसमा क्लिक नगर्नुहोस् । इमेल तथा सोसल नेटवर्कमा पठाइएका विभिन्न खाले बधाइ तथा शुभकामना लगायतका शंकास्पद इमेल खोल्ने तथा त्यसमा दिइएका लिंक ओपन गर्ने गर्नुहुँदैन । त्यस्ता शंकास्पद इमेललाई सोझै डिलिट गर्नुहोस् ।

लिंक सुरक्षित हो वा भाइरस जन्य हो भन्ने कुरा कसरी थाहा पाउने ?

तपाइँलाई पठाइएको वा लगअन गर्न खोजेको साइटको लिंक युआरएल निम्न लिंक safeweb.norton.com र siteadvisor.com मा गएर टाइप गर्नुहोस त्यसपछि त्यो साइट सुरक्षित हो की भाइरसजन्य हो थाहा हुन्छ ।