व्यवसायीलाई फोन गरेर पैसा असुल्न खोज्ने पक्राउ

कञ्चनपुर, वैशाख ४ – व्यवसायीलाई मोबाइलबाट फोन गरेर पैसा असुल्न खोज्ने डडेल्धुराको रुपाल गाविस-५ का भोजराज जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी हिरासतमा राखेको छ।



कञ्चनपुरको त्रिभुवनवस्तीका इँटा व्यवसायी फैरु तामाङका कर्मचारी वीरभद्र जोशीलाई बारम्बार मोबाइलबाट फोन गरी डर धम्की देखाई भोजराजले पैसाको माग गर्दै आएका थिए।

पीडितले मोबाइल नम्बरसहित प्रहरी कार्यालयमा उजुरी गरेपछि प्रहरीले मोवाइल फोनसहित भोजराजलाई पक्राउ गरेको हो।

फोन डिटेलका आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक विनोद शर्मा पौडेलले बताए ।

उनले भने, ‘अर्काको फोन प्रयोग गरेर धम्क्याउदै पैसा माग्दै आएको रहेछ।’

पक्राउ परेका भोजराजलाई हिरासतमा राखेर अनुसन्धानको कार्य अगाडि बढाइएको उनले बताए । रासस