प्रहरीको कुटाइबाट ११ घाइते, विरोधमा यातायात अवरुद्ध

ओखलढुङ्गा, वैशाख १०- हलेसी दर्शनमा गएका थाक्ले गाविसका दर्शनार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिइ हिरासतमा यातना दिएको विरोधमा स्थानीयवासीले सिद्धिचरण राजमार्गअन्तर्गत हिलेपानी-दिक्तेल सडकखण्ड आज बिहानैदेखि अवरुद्ध पारेका छन्।



दुई दिनअघि भएको सामान्य विवादको निहुँमा खोटाङको हलेसी महादेवस्थानको दर्शन गर्न गएका ओखलढुङ्गाको थाक्ले गाविसका ११ जना युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको उनीहरुको आरोप छ।



कुटपिटपछि प्रहरीले भागदौडमा लडेर घाइते भएको भन्ने कागजमा सही गराएर घाइतेलाई आइतबार साँझ छाडेको स्थानीय युवा धनसिंह राईले जानकारी दिए। हलेसी प्रहरी चौकीका प्रहरीको कुटाइबाट थाक्ले-६ का २६ वर्षीय गन्जुराम राईको बायाँ हात भाँच्चिएको छ भने बाहुनीडाँडा-९ जयरामका ३५ वर्षीय दिनेश राईको खुट्टा भाँच्चिएको छ।



गञ्जुरामको ओखलढुङ्गास्थित सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ भने दिनेश राईको स्थानीयस्तरमा उपचार हुन नसकेपछि अर्थोपेडिक अस्पताल काठमाडौँमा उपचार भइरहेको छ। प्रहरीको कुटाइबाट थाक्ले-८ का २८ वर्षीय मिलन राई, सोही ठाउँका ३२ वर्षीय हेमराज राई, २२ वर्षीय कविराम राई, हिराचन्द राई, तीर्थराज राई, दिलकुमारी राई, सविता राई, सविना मगर र यानिका मगर घाइते भएका छन्। उनीहरुको खुट्टा र ढाडमा चोट लागेको स्थानीय भुवन राई बताए।



हलेसीस्थित श्रीराम कपडा पसलमा सामान्य भनाभन भएको विषयलाई लिएर प्रहरीले वैशाख ७ गते बिहान ८ बजेदेखि हिरासतमा राखेर बेलुका ५ बजेसम्म कुटपिट गरेको घटनाका पीडित गञ्जुराम राईले बताए।



प्रहरीले हिरासतमा लिएर यातना दिएको विषयमा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजीव बस्नेतले कपडा किन्ने क्रममा दुई पक्षबीच विवाद बढ्दै गएपछि प्रहरीले नियन्त्रणमा लिनेक्रममा भाग्दा लडेर घाइते भएको दाबी गरे।



स्थानीयले भने तीर्थयात्रीलाई दिनभरी नियन्त्रणमा लिएर यातना दिएको आरोप लगाएका छन्। घटनापछि दोषीमाथि कारबाही र घाइतेलाई क्षतिपूर्ति माग गर्दै स्थानीयवासी विरोधमा उत्रिएपछि हिलेपानी-दिक्तेल-हर्कपुर चल्ने सवारीसाधन चल्न सकेका छैनन्।



सडक अवरुद्ध हँुदा रामनवमीको अवसर पारेर हलेसी तीर्थयात्रामा आएका भक्तजनहरु अलपत्र परेका छन्। ओखलढुङ्गा खण्डमा पीडितपक्षले पीडकमाथि कारबाहीको माग गर्दै अवरुद्ध गरेको सडक खुलाउन समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीले बताए। रासस