'मंसिर पहिलो सातामा चुनाव नभए सरकारलाई हटाउँछौं'

काठमाडौं, वैशाख ७ (नागरिक)- प्रमुख दलका प्रभावशाली नेताहरुले मंसिरको पहिलो साताभित्र संविधान सभाको निर्वाचन गर्न नसके खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारलाई हटाउने चेतावनी दिएका छन्। उनीहरुले चुनाव गर्न नसके एक दिन पनि बढी टिक्न नदिने बताए।



रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले मंसिर पहिलो साता निर्वाचन गर्न नसके त्यसपछि यो सरकार एक दिन पनि टिक्न नसक्ने दावी गरे।



उनले भने- मंसिर पहिलो साताभित्र पनि निर्वाचन गर्न नसके यो सरकार एक दिन पनि टिक्न सक्दैन। चुनाव गर्न बनेको सरकारलाई चुनाव गर्न नसक्दा बसिरहने नैतिकताको आधार रहँदैन।



सरकारले निर्वाचनको मिति घोषणा गर्दा निर्वाचन नगरी सत्ता लम्ब्याउने षड्यन्त्र गरिरहेको आशंका ब्यक्त गर्दै पौडेलले सरकारले निर्वाचन आयोगलाई दोष दिनुभन्दा पनि तत्काल निर्णय कार्यान्वयनमा जुटेर निर्वाचनको बातावरण निर्माण गर्नु पर्ने बताए।



त्यस्तै नेकपा एमालेका नेता रघुवीर महासेठले मंसिरको पहिलो साता निर्वाचन गर्न नसके मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले राजीनामा गर्नुपर्ने भन्दै सहमतिमा नआउने दललाई पाखा लगाएर भए पनि निर्वाचन गर्नुपर्ने बताए। उनले भने- भारतमा नक्सलवादी विरोधमा हुँदाहुँदै निर्वाचन भएको छ। केन्या पनि यस्तै परिस्थितिमा निर्वाचन भएको छ।



यद्यपि उनले निर्वाचनको विकल्प नभएकाले सकेसम्म सबैलाई निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न तत्काल वार्ता थाल्नु पर्नेमा जोड दिए। संघीय समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले आफूहरु निर्वाचनविरोधी नभएकाले सरकारले गरेको वार्ताको आह्‍वानप्रति सकारात्मक भएको भन्दै आफ्नो पार्टीसँग विचार मिल्ने दललाई समेटेर एक मुष्टरुपमा सरकारसँग वार्ता गर्ने जानकारी दिए।



उनले भने- हामी वार्ताप्रति सकारात्मक छौं। वार्ताबाटै समाधान खाजिनुपर्छ। मुलुकको समस्या समाधान र निर्वाचनको सुनिश्चिताको लागि हामी वार्ता गर्छौं। चेम्जोङले समानुपातिक प्रतिनिधित्वको संख्या घटाउने, मनोनितको क्राइटएरिया राख्‍ने कुरा परिवर्तन हुनुपर्ने र क्षेत्र निर्धारण हुनुपर्ने आफूहरुको माग रहेको साक्षात्कारमा सुनाए।