एमालेले तय गर्‍यो चुनावी सन्देश ‘बहुपहिचानसहितको संघीयता र सामाजिक एकतासहितको राष्ट्रियता’

काठमाडौ, वैशाख ५ – एमाले ‘बहुपहिचानसहितको संघीयता र सामाजिक एकतासहितको राष्ट्रियता’ भन्ने मूल सन्देश लिएर संविधानसभामा लोकतान्त्रिक शक्तिहरूको दुई तिहाइ बर्चस्व स्थापित गर्ने गरी चुनावी अभियानमा जाने भएको छ ।



पोलिटब्युरोको जारी बैठकले निर्वाचनसम्बन्धी एजेन्डामा छलफल गर्दै तत्कालै चुनावी अभियानमा केन्दि्रत हुने निर्णय गरेको हो । त्यसका लागि पहिलो चरणमा आन्तरिक तयारीका लागि संगठन सुदृढीकरण अभियान चलाउने छ । बैठकमा अध्यक्ष झलनाथ खनालले यो निर्वाचन एमाले र मुलुककै लागि जीवनमरणको सवाल भएकाले कुनै पनि हालतमा लोकतान्त्रिक शक्तिहरू स्थापित भएर आउनुपर्ने बताए । उनले त्यसका लागि आफ्नै बलमा एमाले बहुमतसहित संविधानसभामा उपस्थित हुनु अनिवार्य रहेको उल्लेख गरे । बहुमतसहितको एमाले र विचार मिल्नेहरू लोकतान्त्रिक शक्तिहरूको दुई तिहाइले मात्र संविधान बनाउन सक्ने भएकाले त्यसका लागि संगठनलाई परिचालन गर्नुपर्ने अध्यक्ष खनालले बताएका थिए ।

‘दुई तिहाइका लागि विचार मिल्ने शक्तिहरूसँग सहकार्य गरेर जाने कुरा भएको छ,’ बैठकपछि प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने, ‘आन्तरिक व्यवस्थापन पनि चुस्त पारेर जानुपर्ने छ ।’ बैठकले चुनावी घोषणापत्रमा राष्ट्रिय रूपमा उठेका मुद्दाहरूमा स्पष्ट धारणा बनाएर जानुपर्ने सुझाव दिएको छ । पोलिटब्युरो सदस्य प्रकाश ज्वालाका अनुसार बहुपहिचानसहितको संघीयता, समृद्घ नेपाल राष्ट्रिय स्वाधीनता, सामाजिक सदभाव, राष्ट्रिय एकता, पछाडि पारिएको वर्ग समुदायको अधिकारको सुनिश्चिततालगायत विषय समेटेर घोषणापत्र बनाउनु पर्ने धारणा बैठकमा आएको छ । ‘आफ्नै शक्तिमा एमाले बहुमत ल्याउन समक्ष छ भन्ने स्थापित गर्दै चुनावी अभियानमा लाग्ने निर्णय भएको छ,’ पोलिटब्युरो सदस्य ज्वालाले भने, ‘एमालेको नीति स्थापित भइसकेकाले अब नेतृत्व पनि एमालेकै हुने गरी जानुपर्छ भन्ने निष्कर्ष हो ।’ बैठकमा नेताहरूले कात्तिकको मसान्तदेखि मंसिर पहिलो साताभित्र चुनावको मिति तय गर्नुपर्ने, एक प्रतिशतको थ्रेसहोल्डको पक्षमा अडान लिनुपर्ने धारणा राखेका थिए । उनीहरूले ३० प्रतिशतसम्म उम्मेदवारी दिनेले समावेशिताको सिद्घान्त अपनाउनु नपर्ने प्रावधान गलत भएको भन्दै त्यसको विपक्षमा अडान लिनुपर्ने सुझाव दिएका थिए ।