भारतीय नक्कली नोटसहित ४ जना पक्राउ

वृजराज कुशवाहा २५ फागुन, नवलपरासी । नवलपरासी प्रहरीले ४ जना भारतीय नागरिकलाई भारतीय नक्कली नोट सहित पक्राउ गरेको छ । उनीहरुसंग ७ हजार भारतीय नक्कली नोट बरामद गरिएको छ ।







नवलपरासीको त्रिवेणी नजिकै लागेको मदारबाबा मेलामा नोट सटही गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भारत बिहारको पश्चिमी चम्पारण जिल्ला बेतिया घर भएका २० वर्षे पिन्टु यादव, भेडीहारी घर भएका २६ वर्षे विजय बिन, १८ वर्षे मोटन राय र हरिनगरका २५ वर्षे बवाली राय रहेका छन् । उनीहरुले १४ हजार ६ सय ८५ रुपिया साटीसकेको र ५ सय दरको १२ थान र १ हजार दरको १ थान गरी ७ हजार भारतीय नक्कली बरामद गरिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक डम्बर तामांगले जनाएका छन् ।



पक्राउ गरिएका चारै जनालाई ईलाका प्रहरी कार्यालय बेलाटारीमा राखेर अनुसन्धान भैरहेको छ । त्रिवेणी नजिकै रुपौलिया कुडिया गाविसको मध्य सीमामा गएको एक हप्तादेखि लागेको मदारबाबा मेलामा आएका भारतीय भक्तजनहरुलाई भारतीय रुपिया आवश्यक पर्ने मौका छोपी सटही गरेको नवलपरासी प्रहरीको भनाई छ ।