कालिगण्डकीमा टुक्राटुक्रा अवस्थामा शव, हत्यारा पत्ता लगाउन मुस्ताङमा प्रदर्शन

पर्वत, चैत ५ - मुस्ताङ जिल्लाको कागबेनी गाविस- ६ का ६८ वर्षीय पेम्बा विष्टको हत्याको अनुसन्धान गर्न माग गर्दै जोमसोस बजारमा स्थानीयबासीले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीलाई प्रहरीले रोक्ने प्रयास गर्दा प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेकाछन। विष्टको गत फागुन १९ गते साँझ अपहरणपछि हत्या गरेको भन्दै कागबेनीका बासिन्दाले हत्यारा पत्तालगाउन मागसहित प्रदर्शन गरेका हुन्। प्रहरीले १७ दिनसम्म पनि हत्यारा पत्ता नलागेको भन्दै सुरक्षाको प्रत्याभूति हुनुपर्ने तथा हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासनविरुद्धमा आइतबार प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाउने क्रममाभित्र छलफल भइरहदा बाहिर प्रहरी कार्यालयमा तोडफोड गरिएको हो। पुथाङदेखि सुरु भएको प्रदर्शन जोमसोम हुँदै जिल्ला प्रशासन अगाडि पुगेको थियो। प्रदर्शनकारीले हत्यारा पत्ता लगाउन र शान्ति सुरक्षा कायम गर्न माग गर्दै मुस्ताङका प्रमुख जिल्ला अधिकारी ईश्वरराज रेग्मीलाई हस्ताक्षरसहितको ज्ञापनपत्रसमेत बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै प्रजिअ रेग्मीले अनुसन्धान कार्य तीव्ररुपमा अगाडि बढेको बताए। घटनामा संलग्न रहेको उजुरीको आधारमा छमी विष्ट र लोप्साङ गुरुङलाई अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा केही दिन अगाडिदेखि राखिएको छ। मृतक पेम्बाको शव टुक्राटुक्रा अवस्थामा जोमसोम गाविस वडा नं. ५ स्थित कालिगण्डकीको किनारमा भेटिएको थियो। प्रहरी निरीक्षक राजेन्द्र पोख्रेलका अनुसार मृतकको पोस्टमार्टम गरी केही भाग परीक्षणका लागि काठमाडौँ पठाइएको छ। उनले दुवै आरोपीको मोबाइल जफत गरी अनुसन्धानको प्रक्रियामा रहेको र स्थानीयको सहयोग भए छिट्टै सबुत प्रमाणसहित हत्यारा पत्ता लाग्ने बताए। रासस