२६ फागुन, काठमाण्डौं । राजनीतिक गतिरोध अन्त्य गरी निकास निकाल्न प्रयासरत राजनीतिक दलका नेताहरु आजपनि छलफलमा जुट्ने भएका छन् ।
हिजोसम्ममा विवादका विषयलाई अन्तिम रुप दिने भन्दै छलफलमा जुटेका दलहरुबीच लडाकु दर्जा निर्धारण, मतदाता नामावली र नागरिकताका विषयमा दलहरूबीच विवाद भएपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
यसअघिका बैठकमा दलहरुले नेपाली सेनाको तालिम लिइरहेका माओवादी पूर्व लडाकुलाई दिइने दर्जा बाहेकका विषयमा सहमति नजिक पुगेको दाबी गरेका थिए । एकीकृत माओवादीले समायोजनमा महासेनानीसहित दुई मुख्य सेनानी पद चाहिने माग गरेपछि विवाद बल्भिmएको नेताहरूले बताएका छन् ।
प्रतिपक्षी दलहरूले सैनिक ऐनअनुसार दर्जा मिलान गर्नुपर्ने अडान राखेका छन् । यसैगरी मतदाता नामावली अद्यावधिक गर्ने विषयमा पनि दलहरूबीच फरक फरक अडान देखिएपछि हिजोको बैठक सहमतिमा पुग्न नसकेको बताइएको छ ।
प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई चैत १ गते हुने भएपनि दलहरू भने त्यसअघि नै चुनावी सरकार बनाउने कसरतमा छन् ।
बैठक ११ बजेपछि नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालयमा बस्नेछ ।
प्रमुख चार दलको बैठक आज पनि बस्दै