गुगलले तिर्यो ७० लाख डलर क्षेतिपुर्ती
अनुमति विना मानिसहरुको व्यक्तिगत तथ्यांक संकलन गरेकोमा गुगलले सजायँस्वरुप ७० लाख डलर जरिवाना तिर्ने भएको छ । गुगलको मेसिन जाडान गरिएको कारले अमेरिकाको विभिन्न शहरमा गएर अनुमति विना नै प्रयोगकर्ताहरुको इमेल, पासवर्ड र वेब ब्राउज गरेको इतिहाससम्बन्धी डाटा संकलन गरेको थियो । सन् २००८ देखि १० सम्मका बीचमा कारमा जडित क्यामेराले घरमा जोडिएको वायरलेस नेटवर्कबाट थुप्रै जानकारी लिएको थियो ।
प्रयोगकर्ताको गोपनियता भंग गरेर गुगलले अपराध गरेको भन्दै चर्को बिरोध भएपछि बिभिन्न राज्यमा त्यसबारे मुद्दा परेको थियो । त्यसमध्ये ३८ वटा राज्यका महान्यायाधीवक्ता र गुगलबीच सहमति भएको छ ।
सम्झौता अनुसार गूगलले ७० लाख डलर जरिवाना तिर्नुका साथै हजारौंको संख्याको इमेल, पासवर्ड र इन्टरनेटको इतिहास नष्ट गर्नेछ । यस्तै निजी तथ्यांकको मुद्दामा गुगलले आफ्नो कर्मचारीहरुलाई १० वर्षसम्म प्रशिक्षण कार्यक्रम समेत संचालन गर्ने भएको छ भने वायरलेस नेटवर्कको जानकारीलाई कसरी सुरक्षित गर्ने भनेर गुगलले विज्ञापन अभियान पनि चलाउनेछ । गूगलले एक इन्जिनियरको गल्तीले एक कोड राख्दा वायरलेस नेटवर्कको सबै तथ्यांक संकलन भएको तर त्यसको कुनै पनि प्रयोग नगरिएको र तथ्याङ्का डाटाबारे सोधीखोजी पनि नगरिएको बताएको छ ।