वर्ल्ड कपको बाटो, नेपालले आज माल्दिभ्ससँगको खेल सुरु गर्दै

चैत्र १३ – क्रिकेटमा ‘फास्ट- फुड’ को रूपमा चिनिन्छ, ट्वान्टी- ट्वान्टी संस्करण । मतलब हो, छिटो र मिठो । नेपालमा मंगलबारदेखि नौ दिनसम्म १० राष्ट्र सम्मिलित छोटो संस्करणको क्रिकेट प्रतियोगिता एसीसी ट्वान्टी- ट्वान्टी कप प्रतियोगिता हुँदैछ । योपल्ट चार टिम दाबेदारका रूपमा देखिएका छन् । तीनपल्टको डिफेन्डिङ च्याम्पियन अफगानिस्तान आफ्नो साख जोगाउन नेपाल ओर्लिएको छ । अफगानिस्तानसहित यूएईको रवाफ र हङकङको दबाब झेल्दै च्याम्पियन बन्न घरेलु टिमलाई पक्कै सहज छैन । अन्य टिमलाई ढाल्ने क्षमता आफ्नो टिममा रहेको नेपाल प्रशिक्षक पुबुदु दासानायकेको दाबी छ । यसपटक नेपाललाई पहिलो ट्वान्टी- ट्वान्टी उपाधि दिलाउन उनी मरिमेटेर लागेका छन् ।

दुई वर्षअघि नेपालले काठमाडौंमै एसीसी ट्वान्टी- ट्वान्टीको तेस्रो संस्करण गरेको थियो । त्यसबेला ओमानसूग हार्दै नेपाल चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको थियो । योपल्टको स्थिति भने बदलिएको छ । नेपाल दुई ठूला प्रतियोगिता आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन- ४ र एसीसी ट्रफी एलिटको च्याम्पियनको हौसियतमा कीर्तिपुर


मैदानमा उत्रूदै छ ।

यूएईमा भएको वान- डे संस्करणको ट्रफी एलिटमा नेपालले अफगानिस्तान, हङकङ र यूएई तीनवटै टिमलाई पछि पारेको थियो । नौ दिनसम्म चल्ने प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टिम सेप्टेम्बरमा यूएईमा हुने आईसीसी ट्वान्टी- ट्वान्टी वल्र्ड कप छनोट खेलका लागि चुनिने छन् ।

वान- डे मान्यता प्राप्त अफगानिस्तान र आयोजक देश भएका कारण यूएई यसअघि नै छनोटमा पुगिसकेका छन् । यीबाहेक शीर्ष दुईमा अटाउने दुई टिमले यूएईको यात्रा तय गर्ने छन् । अफगानिस्तान र यूएई सेमिफाइनलमा पुगेमा अन्य दुई टिमका लागि वल्र्ड कप छनोटको बाटो खुल्ला हुनेछ ।

यूएईमा सोह्र टिम सम्मिलित छनोटको शीर्ष ६ मा अटाउन सके नेपालले छन् २०१४ मा बंगलादेशमा हुने वल्र्ड कपमा खेल्न पाउने छ । दुई वर्षअघिको तुलनामा कीर्तिपुरको माहोल फरक हुने पक्का छ । यसअघि सधैं निःशुल्क खेल हेर्ने दर्शकका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यस पटकदेखि सय रुपैयाँको टिकटको व्यवस्था गरेको छ ।

सन् २०११ मा दर्शकले गरेको ढुंगामुढाका कारण नेपालले २०१२ मा कुनै पनि खेल आयोजनाको अवसर पाएन । त्यसैले क्यानले यसपटक मैदान छेउ- छेउमा १२ फिट अग्लो जस्ताको बार खडा गरेको छ । साथै मैदान सुरक्षामा पनि कडाइ गर्ने नेपाल क्रिकेट संघ -क्यान) ले जनाएको छ ।

कप्तान पारस खड्काले दर्शकलाई संयम भएर खेल हेरिदिन आग्रह गरेका छन् । दर्शकले उपद्रो गरेमा आगामी दुई- तीन वर्ष नेपालमा कुनै अन्तर्राष्ट्रिय खेल नहुने चेतावनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले दिइसकेको छ । सुरक्षा व्यवस्था हेर्नका लागि आईसीसीका सुरक्षा अधिकारी पनि नेपाल आएका छन् । नेपालले मंगलबार (आज) माल्दिभ्ससँगको खेलसँगै यात्रा सुरु गर्ने छ ।