चुनाव गराउन निर्वाचन आयोगमा गरिएको नियुक्तिका विरुद्ध सर्वोच्चमा रिट पर्यो

चैत १३ - निर्वाचन आयोगमा गरिएको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।



नेपालको अन्तरिम संविधान २०६३ को धारा १२८ को उपधारा ३ र ७ विपरीत एक कार्यकाल निर्वाचन आयोगमा काम गरिसकेकाहरुलाई पुनः सोही पदमा नियुक्त गरिएको भन्दै प्रवीणकुमार लाभ र हरेराम साहले सोमबार रिट निवेदन दर्ता गरेको अदालतका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिए ।

संवैधानिक परिषद्को सिफारिसमा आइतबार मात्रै राष्ट्रपतिले प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त गरेका थिए ।

राष्ट्रपतिले प्रमुख निर्वाचन आयुक्तमा निलकण्ठ उप्रेती तथा आयुक्तमा दोलखबहादुर गुरुङ, डा अयोधीप्रसाद यादव,रामभक्त पिबी ठाकुर र इला शर्मालाई नियुक्त गरेका थिए ।

राष्ट्रपतिबाट अन्तरिम संविधान अनुसार एक कार्यकाल सकिएकालाई पुनः नियुक्ति गरिएको भन्दै रिट निवेदन दर्ता गरिएको बताइएको छ ।