प्रचण्डले बाँडे राष्ट्रपति र प्रधानमन्त्री, सेनालाई ब्यारेक बाहिर ल्याउने तयारी
७ चैत, काठमाण्डौ । दलहरुवीच प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने र छिटोमा असारमा चुनाव गराउने सहमति भएपछि धेरैलाई लागेको हुनसक्छ- भनिएकै समयमा चुनाव हुन्छ ।
दलका ठूला नेताहरुले कानै टट्याउने गरी चुनावको रटान लगाउन थालेपछि यस्तो लाग्नु स्वभाविकै पनि हो । तर, एमाओवादी अध्यक्ष प्रचण्डले आफैबाट फुटेर गएको बैद्य समूहसँग गरेको छलफलले तत्काल चुनाव हुने सम्भावना टरेको छर्लङ्ग हुन्छ ।
खिलराज रेग्मीको बिरोधमा उपत्यका बन्द गर्नेदेखि ठूला दलका नेता गाउँ छिरे खुट्टा भाँचिदिनेसम्मको हुंकार दिइरहेका बेला प्रचण्ड र वैद्यवीच भित्रभित्रै चुनावका बारेमा कुरा भइरहेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।
प्रचण्डले बैद्यसँगै साउती गर्दै भने- आन्दोलनभन्दा चुनावलाई जोड दिउँ, आन्दोलनलाई बढिमा असारको चुनाव धकेल्नेगरिमात्र बढाउँ, मंसिरमा चुनाव हुने वातावरण बनाउँ, सके एउटै पार्टीबाट लडौं, नसके कार्यगत एकता गरौं ।’ प्रचण्डले कुराको चुरो खोले- राष्ट्रपति हाम्रो पार्टीबाट बनाउँ, प्रधानमन्त्री बादललाई बनाउँ ।’ प्रचण्डको प्रस्ताव आफ्नो आन्दोलन तुहाउनका लागि हो भन्ने बुझेर बैद्यले तत्कालै ‘यो हुँदै नहुने चुनावको कुरै नगरौं’ भन्ने जवाफ दिएको समाचारमा उल्लेख छ ।
डन र पूर्व लडाकूसँग सेना भिड्ने
यसैवीच संबिधानसभाको चुनावमा शिविरबाट बाहिरिएका पूर्व लडाकूको प्रयोग गरि धाँधली हुनसक्ने अनुमान गर्दै सेना खटाउने तयारी भइरहेको छ । ०६४ सालको चुनावमा सेनालाई ब्यारेकको ५ किलोमिटरभन्दा बाहिर निस्कन प्रतिबन्ध लागेका कारण सेना परिचालन हुन सकेको थिएन । त्यतिखेर वाईसीएलको प्रयोग गरी चुनावमा धाँधली भएको दलहरुले कांग्रेस एमालेको आरोप थियो । यतिबेला ती दलहरुभित्र पनि थुप्रै ब्रान्डेड डनहरु भित्रिएका कारण चुनाव निस्पक्षमा आशंका छ । सोही कारण सरकारले भित्री घेरामा पुलिस र बाहिरी घेरामा सेना राखेर चुनाव गराउने तयारी गरेको जनआस्था साप्ताहिकले छापेको छ । आधा घण्टाभित्र हरेक बुथमा पुग्न सक्ने गरि केहीलाई सादा पोशाकमा र अन्यलाई तयारी हालतमा राख्ने गरि सेनाले तयारी थालेको समाचारमा उल्लेख छ । त्यसका लागि जंगी अड्डाले चुनावी तयारीसम्बन्धी परिपत्र मातहतका निकायमा पठाइसकेको छ । डनहरुको पुलिससँग उठबस बाक्लै हुन थालेका कारण चुनावमा पुलिसले प्रभावकारी सुरक्षा दिन नसक्ने निष्र्कषसहित सेनालाई ब्यारेक बाहिर ल्याउने तयारी थालिएको समाचारमा उल्लेख छ ।