डिग्री पढ्दै गरेका विद्यार्थी १० महिनादेखि सम्पर्कबिहीन

काठमाडौं, चैत्र ७ – स्नातकोत्तर पढ्दै गरेका प्यूठानको बिजुवार -७ टारीका पिताम्बर सुवेदी १० महिनादेखि राजधानीबाट सम्पर्कविहीन भएपछि बुवा खेमराजले छोराको खोजी गरिदिन आग्रह गरेका छन् ।



पाटन क्याम्पसमा समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेका सुवेदी गत जेठ ३२ गतेदेखि सम्पर्कबिहीन भएका हुन् । पछिल्लोपटक आमा भूमादेवीलाई फोन गरी ‘दसैंमा आउँछु’ भनेको खेमराजले बताए । ‘दसैं गयो, तिहार आयो छोरा आएन’, उनले भने, ‘छोराको चिन्ताले आमाको अवस्था नाजुक बन्दै गएको छ ।’ खेमराज अहिले प्रहरी र छोरोको डेरा आसपास र पत्रिकाका कार्यालयमा भौतारिदै छन् ।

ललितपुरको च्यासल गच्छेटोलमा डोरा गरी बस्ने पिताम्बर बैदेशिक रोजगारीबाट फर्केपछि पुनः स्नातकोत्तर अध्ययनलाई निरन्तरता दिएका थिए । छोरा सम्पर्कबिहीन भएपछि गत असोजमा उनको डोरा तोडेर हेर्दा उनका मोवाइल र अन्य कागजात कोठामै रहेको पाइएको उनले बताए ।

पिताम्बरकी दिदि बिश्वमायाले गत मंसिरमा भाइ सम्पर्कबिहीन भएको जानकारी प्रहरीलाई गराएपछि अपराध अनुसन्धान कारवाही शाखाले ललितपुर प्रहरी, प्रहरी वृत्त चापागाउँ र महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई समेत पत्राचार गरेको थियो ।

खेमराजले छोरालाई सम्पर्कमा आउन समेत आग्रह गरेका छन् । ‘छोरा फर्के आमाको चिन्ता कम हुने थियो’, उनले भने ।