कक्षा-४, तौल १६ किलो, उचाइ १ फिट १० इन्च
फरक क्षमता (अपाङ्गता) पनि फरक-फरकका हुन्छन्। त्यस्तै फरक शारीरिक क्षमता भएका कटारी, भोर्लेका १३ वर्षीय नवल खड्का १ फिट १० इन्च अग्ला छन्। सरस्वती मावि भोर्ले, कटारीमा कक्षा ४ मा अध्ययनरत नवलको तौल १६ किलो मात्र छ। फरक क्षमताका भए पनि खड्का पढाइमा भने अब्बल छन्। सबै साथीहरूसँग मिलनसार खड्का अनुशासितसमेत छन्। ‘पढाइमा समेत उनी अब्बल छन्, शारीरिक क्षमता फरक भए पनि उनी कक्षाका राम्रो विद्यार्थी हुन्,’ विद्यालयका प्रधानाध्यापक अर्जुनबहादुर कार्कीले भने। अहिले विद्यालयले उनलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ।
नवलका बुबा नरसिंह कार्कीले उनको शारीरिक क्षमता सानैदेखि कमजोर भएको वताए। खड्काका चार छोरामध्ये अन्य छोराको अवस्था भने सामान्य छ। कलाकार बन्ने रुचि भएका नवल गीत पनि राम्रो गाउँछन्। फरक क्षमता भएकै कारण विद्यालयका साथी एवं शिक्षकहरूले उनलाई माया गर्ने नवल बताउँछन्।