मधेशबाट चुनाव लड्ने प्रचन्डको उद्घोष

जनकपुर, चैत ९ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा मधेसबाट उम्मेदवारी दिने उद्घोष गर्नुभएको छ ।

धनुषाको सखुवा धनुषाधाममा सहीद अजबलाल यादवको ११ औं स्मृति दिवसका अवसरमा भएको कार्यक्रममा प्रचण्डले मधेसको कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने उद्घोष गर्नुभयो ।



‘पहाड र मधेसलाई एकीकृत बनाउन, पहिचान सहितको संघीयता र स्वायक्तता लागू गर्न मधेसको कुनै एक ठाउँबाट चुनाव लड्छु’, प्रचण्डले भन्नुभयो, ‘तपाईँहरुको साथ चाहिन्छ । म मधेसको प्रतिनिधित्व गर्दै तपाईँका आवाज उठाउँछु ।’

धनुषाबाट नै माओवादी जनयुद्ध सुरु भएको भन्दै प्रचण्डले सहीद अजबलाई यादव मधेशी जनताको मुक्ति आन्दोलनको योद्धा रहेको बताउनुभयो ।

अधिकारको प्राप्तीका लागि विद्रोह अनिवार्य रहेको भन्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गणतन्त्र स्थापनाको लागि परिवर्तनकारी शक्तिहरु एक भएकोले दुनियाको कुनै पनि शक्तिले नयाँ नेपाल निर्माणको अभियान रोक्न नसक्ने प्रचण्डले ठोकुवा गर्नुभयो ।

गत निर्वाचनमा पार्टीले मधेसमा व्यहोर्नु परेको क्षति यस पटकको निर्वाचनबाट ब्याज सहित असुल उपर गर्ने प्रचण्डको दावी छ । यसैबीच नेपाली काँग्रेसका झण्डै एक यि ५० कार्यकर्ता एनेकपा माओवादीमा प्रवेश गरेका छन् ।