प्रवेश शुल्क बढी लिएको भन्दै निजी विद्यालय विरुद्ध अभिभावकको आन्दोलन

काठमाडौ, चैत ९ – निजी विद्यालयले भर्ना फारम र प्रवेश शुल्क बढी लिएको भन्दै नेपाल अभिभावक संघ बिरोधमा उत्रिएको छ । संघले शुक्रबार निजी तथा आवासयीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको केन्द्रीय कार्यालय अगाडि कोणसभा गर्दैछ । यस्तै आउँदो सोमबार काठमाडौ उपत्यकाका ३ वटै प्याब्सन जिल्ला कार्यालयमा संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका कार्यान्वयनको लागि दबाब दिन कालो ब्यानर राख्ने संघले जनाएको छ । निजी विद्यालयहरुलाइ नियमन गर्न शिक्षा विभागले जारी गरेको निर्देशिका पूर्ण रुपमा कार्यान्वयन गर्न संघले माग गरेको छ । निर्देशिकामा भर्ना आवेदनका लागि २५ रुपैयाँ शुल्क लिनुपर्ने, प्रवेश परीक्षाका लागि एकसय रुपैयाँभन्दा बढी लिन नपाइने, कमजोर निजी विद्यालयलाई मर्ज गरिने, विद्यालय सञ्चालकले तीन वर्षसम्म शुल्क बढाउन नपाउने लगायतका प्रावधान राखिएका छन् ।