समलिङ्गीमध्ये नै १९ एड्स रोगी

चैत ६ – समलिङ्गी यौन सम्बन्ध राख्नेमध्ये जिल्लाका १९ जनामा एचआइभी पोजेटिभ देखिएको जिल्लास्थित निलहीरा समाजले जनाएको छ ।

पुरुष यौनकर्मी, पुरुष पुरुषबीच यौन कार्य गर्ने र तेस्रो लिङ्गीको स्वास्थ्य परीक्षण गराउँदा एचआइभी पोजेटिभ देखिएको हो ।



जिल्लाका विभिन्न कलष्टरमा तेस्रो लिङ्गीको पहिचान गर्ने, स्वास्थ्य परीक्षण गर्ने र एचआइभीलगायत अन्य यौनरोग देखा परेमा उनीहरूको उपचार पनि समाजले गर्दै आएको समाजका जिल्ला कार्यक्रम संयोजक सुदीप थापाले जानकारी दिएको राससमा उल्लेख छ ।

अहिले पनि समाजमा अपहेलित भइन्छ भनेर धेरै समलिङ्गी खुल्न नसकेको जसले गर्दा उनीहरू सामान्य स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुन परेको छ ।

समलिङ्गीलाई नै लक्षित गरी समाजले कार्यालयमै हटलाइन सेवा, ल्याब सेवा, परामर्श सेवा, अल्ट्रासाउन्डजस्ता सेवा प्रदान गर्नुका साथै एचआइभी सङ्क्रमितलाई नियमित स्वास्थ्य परीक्षण, भिटिपी सेवा दिँदै आएको समाजले जनाएको छ ।

सन् २००९ देखि यस्ता सेवा दिँदै आएकामा सन् २०१३ सम्ममा कूल तीन हजार ६९० जना समलिङ्गीलाई विभिन्न सेवा प्रदान गरिएको जानकारी संयोजक थापाले दिए ।