सोमबारदेखि लागू हुने गरी विधुतभार कटौतीमा दैनिक दुई घन्टा कम गर्ने

फागुन २७ – नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि लागू हुने गरी विद्युतभार कटौतीमा दैनिक दुई घन्टा कम गर्ने भएको छ। प्राधिकरणका अनुसार अब दैनिक १० घण्टा विद्युतभार कटौती हुनेछ। यसअघि दैनिक १२ घण्टा विद्युत् कटौती हुने गरेको थियो।


प्राधिकरणले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी नदीहरूमा पानीको जलस्तर घट्ने क्रम रहेता पनि तापीय विद्युतगृह सञ्चालन, भारतबाट विद्युत् आयात, कालीगण्डकी ए जलविद्युत् केन्द्रको मर्मत कार्य समयमै सम्पन्न भएको, कुलेखानी जलाशयको पानी सञ्चितिसमेत अनुकूल रहेका कारण विद्युतभार कटौती कम भएको हो।

यसैगरी प्राधिकरणले चुहावट नियन्त्रण कार्यको प्रभावकारी अनुगमन गरेको, निकट भविष्यमा सञ्चालन हुन गइरहेको प्रवेशिका परीक्षासमेतलाई दृष्टिगत गरी साविकमा हुँदै आइरहेको विद्युतभार कटौतीलाई कम गरेको बताइएको छ। रासस