अटेर गरेर हवाइजहाज भित्रै चुरोट तानेपछि…

हवाइजहाज भित्र चुरोट खान निषेध हुन्छ । यदि नियमलाई मिच्दै कसैले हवाइ जहाज उडिरहेको बेला जहाजभित्रै चुरोट सल्काएर खायो भने के होला ? सायद उसलाई तत्कालै चुरोट फ्याँकिहाल्न निर्देशन दिइन्छ । तर चुरोट खानेले फ्याँक्न मानेन भने के होला ? उसलाई सबै यात्रु मिलेर भकुर्छन् र चुरोट थुतेर फ्याँकिदिन्छन् ।


यात्रुलाई विमानभित्रै भकुर्ने के हवाइजहाज हाम्रो थोत्रो बसजस्तो हो र ? होइन । यात्रुलाई भकुर्नु वा विमानभित्र झगडा गर्न झनै मनाही हुन्छ । यस्तो अवस्थमा विमानभित्र कसैले अटेरी गरेर चुरोट खायो भने के गर्नेहोला त ? खैर, अरुले जे गर्लान् तर क्यानडाको एक विमान भने यात्रुले अटेरी गरेर चुरोट खाएका कारण आकस्मिक अवतरण गराइएको छ र यसरी अटेरी गरी विमानभित्रै चुरोट खाने पुरुष र उनकी श्रीमती तथा छोरालाई समेत पक्राउ गरिएको छ ।

क्यानडाबाट डोमिनिकन गणतन्त्रका लागि उडेको जहाज उडेको केही समयमै त्यसमा रहेका तीन जना यात्रुले विमानभित्रै धूमपान गर्न थाले । त्यसो नगर्न उनलाई विमान परिचारिकाले मात्र होइन अरु यात्रुले पनि आग्रह गरे । तर झण्डै ५० वर्ष उमेरका लोग्नेस्वास्नी र उनीहरुको २२ वर्षको छोरोले कसैको आग्रह परवार नगरीकन चुरोट खाइरहे । त्यसो भएपछि विमान चालकले विमान आकस्मिक अवतरण गराउने निर्णय गरे र बर्मुडामा आकस्मिक अवतरण गराए । त्यसपछि विमानस्थलबाटै ती तिन जनालाई नियन्त्रणमा लिएर उनीहरुको पासपोर्ट समेत जफत गरियो ।

अरु यात्रुहरुलाई पनि त्यस दिन विमान कम्पनीले नै बर्मुडामा बसोबासको व्यवस्था मिलायो र अर्को दिन मात्र डोमिनिकन रिपब्लिक पूरायो । हवाइजहाज भित्र अटेरी गरी धूमपान गर्ने बुवा आमा र छोराको परिचय भने खुलाइएको छैन ।